धितोपत्रको बजार पूँजीकरण साढे ४१ खर्ब नजिक, आइतबारै करिब खर्ब बढ्यो

0
Shares

आइतबार नेप्सेमा ६९ अङ्कको वृद्धि भएसँगै एकैदिन धितोपत्र बजार पूँजीकरण ९७ अर्ब ४८ करोड रुपैयाँले बढेको छ । एकैदिन करिब खर्बले बजार पूँजीकरण आइतबार बढेपछि बजार पूँजीकरण साढे ४१ खर्ब नजिक पुगेको हो ।

नेप्सेका अनुसार आज बजार पूँजीकरण ४१ खर्ब ३४ अर्ब ६० करोड १४ लाख २० हजार रुपैयाँ बराबर पुगेको छ ।गत बिहीबार ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख २० हजार रहेको थियो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार धितोपत्र बजार सेयर कारोबार मापक नेप्से पनि ६९ अंकले उकालो लागेर २९२६.७४ बिन्दुमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११.८१ अंकले बढेर ५४२.६३ बिन्दुमा पुगेको छ ।

बजार पूँजीकरण कम्पनीको शेयर र अन्तिम मूल्यको गुणनफल भएकाले शेयर मूल्यसँगै पूँजीकरण पनि बढ्छ । हाम्रो बजारमा संस्थापक र पब्लिक शेयर दुबै भएपनि दैनिक कारोबारमा एकाध बाहेक पब्लिकको मात्र हुने गरेको छ । बजार पूँजीकरणले समग्र बजारको अवस्थालाई समेत देखाउने भएकाले लगानीकर्ताको आम्दानी तथा नोक्सानीलाई प्रत्यक्ष मूल्याङ्कन गर्न सकिन्छ ।

सेयर मूल्यमा भएको वृद्धिका कारण गएको लगानीकर्ताको सम्पत्तिमा बढोत्तरी आए पनि त्यो नाफा भने होइन । नाफा हुन लगानीकर्ताले सेयर बिक्री गरी नगद नै हात पार्नुपर्छ । यस कारण किताबी (लेखांकन) रूपमा मात्र लगानीकर्ताको सम्पत्तिको मूल्य बढेको हो ।

नेप्सेको बजार पूँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महत्वपूर्ण भूमिका हुन्छ । बजार पूँजीकरणलाई सेयर बजारको सम्पत्तिको रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत शेयरहरुको कूल बजार मूल्य अर्थात सम्पूर्ण सूचीकृत कम्पनीको सेयर मूल्य र सेयर संख्याको गुणनफल नै बजार पूँजीकरण हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २ माघ २०७८, आइतबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।