मधेश प्रदेशमा कुल जनसंख्याको २१ प्रतिशत, काठमाण्डौंमा २० लाख १७ हजार बढी

0
Shares

राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशमा सबैभन्दा धेरै कुल जनसंख्याको २१ प्रतिशत मानिसहरुको बसोबास रहेको देखिएको छ भने जिल्लागत आधारमा काठमाण्डौंमा सबैभन्दा धेरै २० लाख १७ हजारभन्दा बढी बसोबास गर्ने गरेका छन् ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८ जना रहेकमा छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जना रहेको छ । मधेश प्रदेशमा कुल जनसंख्याको २०.९९ प्रतिशत र कर्णाली प्रदेशमा ५.८१ प्रतिशत जनसंख्या रहेका छन् ।

प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ ।  दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.०५ भन्दा कम नै रहेको देखिन्छ ।

लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा १०१ र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा ९० रहेको छ ।

भौगोलिक क्षेत्र अनुसार जनसंख्या

भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको देखिएको छ । विसं २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ३.३९ प्रतिशत वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशतमा झरेको छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत अंश रहेकोमा हाल ४.२५ प्रतिशतमा झरेको छ ।

दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १ प्रतिशत बिन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशत बिन्दुले बढेको देखिन्छ । यो गत २०६८ को जनगणनामा हिमालमा ९४, पहाडमा ९१ र तराईमा ९७ रहेकोमा २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ ।

वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक माइनस ०.०२ प्रतिशत, पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६ प्रतिशत वृद्धि देखिएको छ ।

स्थानीय तह अनुसारको जनसंख्या विवरण

स्थानीय तह अनुसारको जनसंख्या हेर्दा काठमाण्डौं उपत्यकामा सबैभन्दा धेरै ८ लाख ६५ हजार ९०६ जना रहेको पाइएको छ । यस्तै सबैभन्दा जनसंख्या भएको मनाङ जिल्लाको नार्फाभूमि गाउँपालिकामा ४४२ जना रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं महानगरपालिका, पोखरा महानगरपालिका, रतपुर महानगरपालिका, ललितपुर महानगरपालिका र वीरगञ्ज महानगरपालिका रहेका छन् ।

सबैभन्दा कम जनसंख्या भएको डोल्पाको ठूलीभेरी नगरपालिकामा १० हजार १८७ जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिक, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका पर्दछन् ।

बीस हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको छ ।

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बाँकेको बैजनाथ गाउँपालिकामा ७० हजार ३१५ जना र सबैभन्दा कम मनाङको नार्फाभूमि गाउँपालिकामा ४४२ जना मात्र रहेका छन् । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५० हजार भन्दा बढी जनसख्या हने गाउँपालिकाको संख्या १५ वटा रहेको छ ।

जिल्लाअनुसारको जनसंख्या र वार्षिक वृद्धिदर

प्राप्त प्रारम्भिक नतिजा अनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार ५३२ जना र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५ हजार ६४५ जनाको अक्सर बसोवास रहेको छ ।

धेरै जनसंख्या भएका जिल्लाहरूमा मोरङ दोस्रो, रूपन्देही तेस्रो, झापा चौथो र सुनसरी पाँचौं छन् । कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ दोस्रो, डोल्पा तेस्रो, रसुवा चौथो र हुम्ला पाँचौं स्थानमा पर्दछन् ।  जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ छ ।

जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक देखिएको छ । जुन गत २०६८ को जनगणना अनुसार २७ वटा जिल्लामा ऋणात्मक देखिएको थियो ।  यसैगरी सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछाम जिल्लामा माइनस १.६५ प्रतिशत रहेको छ । हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी १.८० प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १२ माघ २०७८, बुधबार  १३ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।