तीस अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

0
Shares

नेपाल राष्ट्र बैंकले ३० अर्बको नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ ।

केन्द्रीय बैंक मौद्रिक व्यवस्थापन विभागका अनुसार २०७९ असार मसान्तसम्म भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्स सोझै खरिद गर्न लागेको हो ।

बैंकले आज अर्थात फागुन ५ गते बिहीबार ३० अर्बको उक्त ट्रेजरी बिल्स बोलकबोल गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् । ट्रेजरी बिल्सको खरिद मिति फागुन ६ गते शुक्रबार तोकिएको छ ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको तोकिएको भुक्तानी मिति भएका नेपाल सरकारका ट्रेजरी बिल्सको सिरिज नम्बर र परिणाम उल्लेख गर्नुपर्नेछ । यस्तै बिक्री गर्न चाहेको ट्रेजरी बिल्सको परिमाणको मूल्यमा बोलकबोल गर्नुपर्नेछ । (उदाहरणका लागि १०० रुपैयाँको ट्रेजरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नुपर्नेछ)

यसैगरी काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्सको परिमाण ५ करोड वा ५ करोडले भाग लाग्ने दरले खरिद आह्वान गरेको रकमसम्म बोलकबोल गर्न सक्नेछन् । तर, एउटा सिरिजको ट्रेजरी बिल्सका लागि एउटामात्र बोलकबोल गर्नुपर्नेछ ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेको नेपाल सरकारको ट्रेजरी बिल्स सबैभन्दा कम बोलमूल्य क्रमका आधारमा बहुमूल्यमा राष्ट्र बैंकले खरिद गर्न सक्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०७८, बिहिबार  १० : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।