पशुपतिनाथमा बिहान ११ बजेसम्म तीन लाख भक्तजनले गरे दर्शन

0
Shares

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ । बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन गरेका छन् ।

बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए । बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो । आठ बजेपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो । पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए ।

आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उनले बताए ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ । आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका समेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहनुभएका कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले जानकारी दिए।

बिहान ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–गौशाला–चावहिल सडकमा सार्वजनिक र निजी यातायात सञ्चालन भइरहेको छ । लाइन र भक्तजनलाई व्यवस्थित गरी दिनभर यातायात सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ । यसका लागि नेपाल स्काउट सहित करिब पाँच हजार स्वयंसेवक परिचालन गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चिया सहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविर लगायत सेवा प्रदान गरिएको छ ।

पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिए । पशुपति क्षेत्रका राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगङ्गा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रबाट गुर्जोको चियासहित धुलोको निःशुल्क सेवा दिइएको उनले बताए ।

महाशिवरात्रिका अवसरमा आज भक्तपुरको डोलेश्वर मन्दिरमा पनि निःशुल्क गुर्जो सेवा दिइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथ लगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ ।

महाशिवरात्रिका लागि आज बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो । आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ । पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथका साथै काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । गोकर्णेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै बिजुली बत्तीले सिँगारेर झिलीमिली बनाइएको छ । गोकर्णेश्वर मन्दिरमा पनि बिहान चार बजेदेखि नै भक्तजन आउन थालेको पुजारी जगदीश भट्टले बताए ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ । श्रीयन्त्रको पूजा आराधना हुने महादेवको दर्शनपछि बालयन्त्रको पूजा आराधना हुने मन्दिरमा पनि जानुपर्ने विधि भएकाले पशुपतिनाथ आउने केही भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा पनि दर्शनका लागि जाने गर्छन् । काठमाडौं महानगरपालिका वडा नंम्बर ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी राजधानीका अन्य स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ । आज भगवान् शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुकी विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुन जगाइन्छ । धुनीमा प्रसाद बनाएर खाने प्रचलन समेत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७८, मंगलबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।