
अमेरिकाले रुसबाट गरिने तेल आयातमा प्रतिबन्ध लगाउन युरोपेली राष्ट्रहरुसँग सक्रिय रुपमा वार्ता सुरु गरेको छ ।
रुसले युक्रेनमाथि गरेको आक्रमणका कारण रुसमाथि कठोर आर्थिक प्रतिबन्ध लगाउने गरी अमेरिकाले उक्त फैसला लिएको अमेरिकी विदेशमन्त्री एनटोनी बिलिन्केनले जानकारी दिएका छन् ।
रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २००८ यताकै उच्च भएको थियो । तेलको मूल्यमा वृद्धि भएसँगै युरोपेली तथा अमेरिकी बजारमा महङ्गी बढेको थियो ।
अमेरिकी जनताले मूल्य वृद्धि विरुद्ध विरोध प्रदर्शन गर्दा रुसी तेलको उपभोगमा कटौती गर्ने निर्णय ह्वाइट हाउसले गरेको थियो । उपभोगमा कटौती गर्ने भनेपनि अमेरिका र युरोपेली राष्ट्रहरु प्राकृतिक ग्याँस र इन्धनको लागि रुसमा निर्भर भएको कारणले त्यसको असर अमेरिकी तथा युरोपेली बजारमा पर्ने देखिएको छ । तथापी, रुसले गर्ने निर्यातमा प्रतिबन्ध लगाउँदा रुसमा व्यापक आर्थिक समस्या निम्तिने बिलिन्केनको भनाइ रहेको छ ।
यसैबीच रुसले गर्ने तेल निर्यातमा प्रतिबन्ध लगाउनु आवश्यक रहेको युक्रेनी विदेशमन्त्री डिम्याइत्रो कुलेवाले बताएका छन् । तेल निर्यातमा प्रतिबन्ध लगाउँदा रुससँग अन्तर्राष्ट्रिय मुद्रा सञ्चिति हुनेछैन । जसकारण पुटिनले युद्धको लागि आर्थिक व्यवस्था गर्न सक्ने छैनन् । तर तेल आयातमा प्रतिबन्ध लगाउँदै गर्दा रुसमाथिको अमेरिकी तथा युरोपेली निर्भरता हटाउनुपर्छ भन्ने भनाई युरोपियन कमिसनकी अध्यक्ष उरसुला भोन डेर लेयनको रहेको छ ।
रुस कच्चा तेल तथा प्राकृतिक तेल उत्पादनमा विश्वको तेस्रो ठूलो देश रहेको छ । युरोपेली घर तथा परिवारमा प्रयोग हुने इन्धनमा रुसले कुल ३० प्रतिशत भन्दा धेरै आपूर्ति गर्दै आइरहेको छ ।
विश्व बजारमा तेलको अभाव हुने भयले गत हप्ता ब्रेन्ट क्रुड अइल (कच्चा तेल) को मूल्य २० प्रतिशतभन्दा धरैले बढेको थियो । सोमबार दिउँसोसम्म ब्रेन्ट क्रुड अइलको मूल्य प्रतिब्यारेल १३० डलरमा झरेको देखिन्छ भने डब्लुटीआई क्रुड अइलको मूल्य १२५ डलर छ । रुसले युक्रेनमाथि आक्रमण गरेयता आपूर्ति प्रणाली गढबढ हुने डरले पछिल्ला दिनहरूमा ऊर्जा बजारमा व्यापक उतारचढाव आइरहेको छ । आइतबार ब्रेन्ट क्रुड अइलको मूल्य प्रतिब्यारेल १३९ डलरसम्म पुगेर घटेको हो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया