राष्ट्र उत्थान लघुवित्तको अधिकतम रेञ्जमा कारोबार खुल्यो

0
Shares

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर अधिकतम रेञ्जमा कारोबार खुला भएको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राष्ट्र उत्थान लघुवित्तको १० कित्ता सेयर आइतबारको प्रि ओपनिङ्ग सेसनमा ५०२ रुपैयाँमा कारोबार भएको हो । कम्पनीले कारोबारका लागि आरयूएलबी (RUBL) सिम्बोल पाएको छ ।

कम्पनीको पहिलो कारोबारका लागि नेप्सेबाट प्रतिकित्ता प्रतिसेयर न्यूनतम न्यूनतम १६७.४३ रूपैयाँदेखि अधिकतम ५०२.२९ रुपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरेको थियो । लघुवित्तको आज अधिकतम रेञ्जमा पहिलो कारोबार भएको हो ।

नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारका लागि ओपनिङ्ग रेञ्ज प्रदान गर्दा कम्पनीले सूचीकरणका लागि पेश गरेको कागजातको आधारमा सम्बन्धीत कम्पनीको पछिल्लो लेखापरीक्षण प्रतिवेदनमा उल्लेख रहेको प्रतिशेयर नेटवर्थलाई आधार मान्ने गरेको छ । नेप्सेले कारोबार रेञ्ज तोक्दा कम्पनीको प्रतिशेयर नेटवर्थलाई न्यूनतम र सो मूल्यको तीन गुणासम्म अधिकतम कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

नेप्सेमा बिहीबार लघुवित्तले ८ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) सहित कुल २६ लाख कित्ता सेयर सूचीकृत गरेको थियो ।८ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २६ करोड रुपैयाँ पुगेको छ ।

यसरी हेर्दा कम्पनीको सेयर हात पारेका भाग्यशाली लगानीकर्ताले पहिलो दिनकाे पहिलाे काराेबारमा  नै एक हजारको लगानीलाई ५ हजार २२ रुपैयाँ बनाइसकेका छन् ।

गत आर्थिक वर्ष २०७७।७८ मा कम्पनीले ६ करोड २४ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिसेयर आम्दानी २६.९२ रुपैयाँ कायम गरेको छ । कम्पनीको नेटवर्थमा औसत प्रतिफल २६.९२ प्रतिशत रहेको छ । तीन वर्षपछि अर्थात आव २०८०।८१ सम्म पुग्दा लघुवित्तले ४८ करोड ५८ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक १०४.०४ रुपैयाँ इपिएस पुर्याउने कम्पनीको प्रक्षेपण रहेको छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ ३४७ रुपैयाँ र नेटवर्थमा औसत प्रतिफल १०४.०४ प्रतिशत पुर्याउने कम्पनीको आंकलन छ ।

काभ्रेको बनेपामा रहेको राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७५ फागुनदेखि वित्तीय कारोबार सुरु गरेको थियो । नेपाल ग्रामीण विकास संस्थाबाट राष्ट्र उत्थान लघुवित्त संस्थामा रुपान्तरण भएको हो । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्ने गैर सरकारी संस्थाहरुलाई लघुवित्त संस्थामा रुपान्तरण गर्न निर्देशन गरेपछि राष्ट्र उत्थान नामबाट कारोबार सुरु गरिएको हो । लघुवित्त संस्थामा राष्ट्रिय वाणिज्य बैंकको संस्थापक लगानी रहेको छ ।

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओलाई ‘इक्रा नेपालले आईआर बीबी रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्वन्धमा मध्यम जोखिम रहेको मानिने इक्रा नेपालले बताएको छ । उक्त रेटिङ्ग निष्कासनकर्ताको सामान्य क्रेडिट बिश्वसनीयता सम्बन्धी राय मात्र भएको पनि इक्रा नेपालले बताएको छ ।

पहिलो पटक नेप्सेमा सूचीकृत भएर धितोपत्रको दोस्रो बजारमा कारोबार खुला हुने तयारी गरेका दुई लघुवित्तमध्ये राष्ट्र उत्थान लघुवित्तको सेयर आज कारोबारमा आएको छ भने अर्को लघुवित्त जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको भने प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग हुन नसक्दा कारोबार सम्भव भएन ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ फाल्गुन २०७८, आइतबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।