निर्माण व्यवसायी महासंघ अध्यक्षमा पुनः सिंह, महासचिवमा रोशन दाहाल निर्वाचित

0
Shares

निर्माण व्यवसायीहरूको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रविराज सिंह पुनः विजयी भएका छन् ।

महासंघको २३ औं साधारण सभाबाट सिंह ७६५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेले ३३७ र अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोइरालाले ३२ मत मात्र प्राप्त गरेका थिए । सिंह यसअघिका अध्यक्ष र पाण्डे वरिष्ठ उपाध्यक्ष हुन् ।

त्यस्तै महासंघको वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) लामा ५६३ मतसहित विजयी भएका छन् । लामाले प्रतिस्पर्धामा रहेका धिरेन्द्र कुमार दाहाल र लक्ष्मण रानालाई पन्छाउँदै जीत हात पारेका हुन् । धिरेन्द्र कुमार दाहालले २८९ र लक्ष्मण रानाले २७३ मत प्राप्त गरेका थिए ।

यसैगरी प्रदेश उपाध्यक्षहरूमा प्रदेश १ मा मोहनप्रकाश अधिकारी, मधेश प्रदेशमा शम्भु ठाकुर, वागमती प्रदेशमा बालकृष्ण थापा, गण्डकी प्रदेशमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेशमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेशमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेशमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।

त्यस्तै महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे तथा उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भए । यस्तै, कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्ष सन्तोष शाह विजयी भएका छन् ।

महासंघको पूर्ण समितिमा ५९ सदस्य हुने भए पनि हाल ४६ सदस्यका लागि मात्र निर्वाचन भएको हो । अन्य सदस्यहरू मनोनित र पदेन हुने निर्वाचन समितिले जनाएको छ ।

कुल मतदाता संख्या ११९८ रहेपनि मत भने ११८१ खसेको थियो । २०५४ सालमा स्थापना भएको महासंघले सबै जिल्लामा संघहरू, सातै प्रदेशमा क्षेत्रीय संघ, केन्द्रिय स्तरमा २८३ एसोसिएट सदस्यहरू र एक वस्तुगत संघको छाता संस्थाका रूपमा काम गर्दै आएको छ । देशभरका निर्माण व्यवसायीलाई क, ख, ग र घ वर्गमा विभाजन गरिएको छ । जसअनुसार निर्माण व्यवसायीको कुल संख्या १५ हजार ४६ रहेको महासंघले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  ०९ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।