पाँचतारे होटल सोल्टीको ६ महिनाको खुद नाफा ४ करोड ९० लाख

0
Shares

राजधानी काठमाण्डौंमा सञ्चालित सूचीकृत पाँच तारे होटल सोल्टीले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा ४ करोड ९० लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कोभिड महामारीका कारण गत आर्थिक वर्ष २०७७।७८ को दोस्रो त्रैमाससम्ममा होटलले ११ करोड ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । कोरोना महामारी हट्दै गएपछि होटलको खुद नाफामा सुधार भएको हो ।

सोमबार प्रकाशित गरेको अपरिस्कृत विवरणअनुसार होटलले ६ महिना अवधिमा ५ करोड २४ लाख २३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ११ करोड ४९ लाख २६ हजार नोक्सानीमा रहेको थियो ।

यस अवधिमा होटलको फुड एन्ड बेभरेजमा ९ करोड ९० लाख रुपैयाँ खर्च भएको छ भने कर्मचारी भिआरएस वापतको ३ करोड २५ लाख २५ हजार सहित तलब भत्तामा १३ करोड २७ लाख ९२ हजार रुपैयाँ र सञ्चालन खर्च ६ करोड ७२ लाख ५४ हजार रुपैयाँ लागेको छ । होटलको ह्रासकट्टी र एमोटाइजेसन (ऋणका ब्याजको लागी रकम विनियोजन रकम) शीर्षकमा ५ करोड १२ लाख र सञ्चालन तथा प्रशासनिक खर्च ४ करोड ५० लाख रहँदा फाइनान्सीयल कस्टमा ३३ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ । होटलले नाफाको कर बुझाउन रुपैयाँ छुट्टाएको छैन ।

चुक्ता पूँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको होटलको वार्षिक प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७.५८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तीको मूल्य २६.७१ रुपैयाँ, प्रतिसेयर बजार मूल्य (१० प्रतिसेयर) २३० रुपैयाँ, मूल्य आम्दानी अनुपात १९८.२७ गुणा छ ।

विश्वब्यापी महामारी कोभिड १९ को प्रभाव, विदेशी विनिमय दरमा हुने अप्रत्यासित परिवर्तन, उर्जा, विद्युत कटौती, तत्सम्बन्धी औद्योगिक पदार्थमा हुने अप्रत्यासित मूल्यवृद्धि समस्याका रुपमा रहेको होटलले बताएको छ । त्यसैगरि, पर्यटन उद्योगमा देखा परेको औद्योगिक अशान्ति र अप्रत्यासित रुपमा हुने बन्द हड्ताल, आन्तरिक पर्यटक प्रवद्र्धनको कमी, पर्यटकीय सार्वजनिक सवारी साधनको अभाव, अन्तराष्ट्रिय हवाई सिट क्षमतामा न्यूनताबाट पर्ने प्रभाव बाट पनि प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परेको होटलको दाबी छ । अप्रत्यासित रुपमा घट्ने पर्यटक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरु देशमा पर्यटन सम्बन्धी पर्याप्त भौतिक पूवार्धारहरुको विकासको कमीबाट होटल व्यवसायमा नकरात्मक असर परेको बताइएको छ ।

होटलले कोरोनाभाईरस कोभिड-१९ महामारी जस्तो दैवी प्रकोपको कारण निम्तिने अप्रत्याशित अनिश्चितता तथा सोको संक्रमण रोकथामको लागि जारी गरिने बन्दाबन्दीबाट पर्ने प्रतिकुल परिस्थितिमा होटेल सञ्चालन सम्बन्धी व्यावसायिक गतिविधीहरू अत्यन्त न्यून हुनसक्ने अवस्थामा समेत कम्पनीले न्युनतम सञ्चालन खर्चमा होटेललाई सञ्चालन गर्ने रणनीति बनाएको छ ।

यस्तै होटेलका पूर्वाधार संरचना र सुविधाहरुलाई पूर्ण क्रियाशिल राख्दै कुल सञ्चालन खर्च घटाउनको लागि अपनाउनुपर्ने सबै व्यवसायीक रणनितिक, नीतिगत तथा व्यवसायीक कार्यकुशलतालाई पूर्ण क्षमतामा प्रयोग गर्दै कम्पनीका सबै संयन्त्रहरुको समचित सदपयोग गरी होटेलको सञ्चालन तथा व्यवस्थापन न्यूनतम खर्चमा गर्ने, कर्मचारी तथा सो सँग सम्बन्धित बर्चको मितव्ययीता गर्ने लगायत अन्य अनावश्यक खर्चहरुलाई समेत कटौति गर्ने र होटेललाई प्रतिकूल परिस्थितिमा पनि अनुकूल बाताबरण बनाई आय आर्जनमा अभिवृद्धि गर्ने कार्ययोजनालाई उच्च प्राथमिकता दिइएको उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  १० : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।