होटल हायात रिजेन्सी साढे १२ लाख नोक्सानीमा

0
Shares

नेपालको राजधानी काठमाण्डौंमा सञ्चालित सूचीकृत पाँच तारे होटल तारागाउँ रिजेन्सी ( होटल हायात) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात पुस मसान्तसम्ममा कर अघि १२ लाख ५९ हजार रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ ।

कोभिड महामारीका कारण गत आर्थिक वर्ष २०७७।७८ को दोस्रो त्रैमाससम्ममा होटलले ८ करोड ७५ लाख ८३ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको थियो । कोरोना महामारी हट्दै गएपछि होटलको खुद नोक्सानीमा सुधार भएको हो ।

सोमबार प्रकाशित गरेको अपरिस्कृत विवरणअनुसार होटलले ६ महिना अवधिमा ३ करोड ४ लाख ६८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । ह्रासकट्टी र ऋण ब्इाज मात्रै ३ करोड १७ लाख बुझाउँदा होटल नोक्सानीमा पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ५ करोड ११ लाख ६८ हजार नोक्सानीमा रहेको थियो ।

यस अवधिमा होटलको ६ महिनामा २६ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ भने अन्य आम्दानीबाट ४ करोड ८० लाख ९६ हजार गरी कुल ३१ करोड २८ लाख ५५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यस अवधिमा होटलको कुल खर्च २८ करोड २३ लाख रहेको छ । सञ्चालन र अन्य खर्च १७ करोड ८२ लाख ७१ हजार र प्रशासनिक खर्च १० करोड ४१ लाख १५ हजार गरेको छ ।

होटलको ह्रासकट्टी र एमोटाइजेसन (ऋणका ब्याजको लागी रकम विनियोजन रकम) शीर्षकमा ३ करोड १७ लाख २८ हजार खर्च रहेको छ । होटलले नाफाको कर बुझाउन रुपैयाँ छुट्टाएको छैन ।

चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको होटल घटामा पुगेसँगै वार्षिक प्रतिसेयर आम्दानी ०.१३३५ रुपैयाँ ऋणात्मक रहेको छ । होटलको प्रतिसेयर नेटवर्थ ११६.१५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तीको मूल्य १६९.९४ रुपैयाँ, त्रैमासको अन्त्यमा प्रतिसेयर बजार मूल्य ३६६ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५४८० गुणा छ ।

गत आर्थिक वर्ष २०७७।७८ को दोश्रो त्रैमासिक सम्ममा कुल आम्दानी ५.५८ करोड र कर्मचारी बोनस, संस्थागत सामाजिक उत्तरदायित्व र कर अधिको खुद नोक्सानी ५.१२ रहेकोमा विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ महामारीले विश्व अर्थतन्त्रमा नकारात्मक असर गरेको, त्यसको प्रत्यक्ष प्रभाव पर्यटन व्यवसायमा परेको तथा पर्यटनजन्य गतिविधिमा कमी आएकोले यस आव २०७८।७९ को दोश्रो त्रैमासिक सम्ममा कुल आम्दानी २५.७१ करोडले बढेर ३१.२९ करोड हुन गई करिब १३ करोड रुपैयाँ खुद नोक्सानी भएको होटलले वित्तीय विवरणमा उल्लेख गरेको छ ।

यस अवधिमा पनि कोरोना भाइरसको जोखिम कायम रहेको हुनाले व्यवसायमा प्रभाव पर्न गई न्यून मात्रामा नोक्सानी भएको र कोभिडको असर कहिलेसम्म रहन्छ भनि अनुमान गर्न सक्ने अवस्था नरहेको भए पनि घट्दो आम्दानीलाई मध्यनजर गर्दै खर्चहरुमा मितव्ययीता, कटौती तथा नियन्त्रण गरी नोक्सानी सकेसम्म घटाउने प्रयास गरिरहेको जनाएको छ ।

कोरोना भाइरसको प्रभावमा कमि आई पर्यटकिय गतिविधि बढ्नासाथ तयारी अवस्थामा रहेको स्पेसेलियाटी रेस्टुरेन्ट सञ्चालन गर्ने, आक्रामक बिक्री रणनिति बनाइ बजारमा नयाँ स्वाद पस्कने, श्रोत साधनहरुको उच्चतम प्रयोग गर्दै गाहकहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम तथा योजनाहरु संचालन गरि बिक्री तथा नाफामा सुधार ल्याउने रणनिति होटलको छ ।होटलका सेयरधनीहरुलाई सकेसम्म चाँडो बढि भन्दा बढि प्रतिफल वितरण गर्ने लक्ष्य रहेको वित्तीय विवरणमा उल्लेख छ ।

कोभिडका कारण होटलको आम्दानी घटेपनि आर्थिक वर्ष २०७६।७७ मा पनि लगातार चौथो वर्ष गरी पाँचौ पटक पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढीकर दाखिला गरेकोमा राष्ट्रिय कर दिवस २०७८ को अवसरमा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्धारा सम्मानित भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० फाल्गुन २०७८, सोमबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।