
नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले कोषले लगानी गर्दा सुरक्षित र उच्च प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनालाई कोषले उच्च प्राथमिकता दिएको बताएका छन् ।
कोषको ३२ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कोषका कार्यकारी निर्देशक नेपालले कोषले अहिले विभिन्न १२ वटा कार्यक्रममा करीव ८ लाख भन्दा बढी सहभागीहरुलाई आबद्ध गराई आफ्नो सेवा देशभर पु¥याइरहेको बताए ।
कोषले पूँजी बजारमा संस्थागत लगानी भित्र्याउने उदेश्यले नागरिक स्टक डिलर कम्पनी स्थापना भई संचालनमा आइसकेको छ । कम्पनीमा कोषको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ भने पुर्नबिमा कम्पनीको १० प्रतिशत र नेपाल टेलिकमको ९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणलाई छुटयाइएको छ । नागरिक स्टक डिलर नेपालको पहिलो स्टक डिलर कम्पनीको रुपमा रहेको पनि नेपालले बताए ।
उनले कोषका कार्यक्रममा पति, पत्नि दुवै सहभागी भएको भए आवाश कर्जा सीमालाई १ करोड रुपैयाँ सम्म सुबिधा प्रदान गर्ने कार्य सुरु गरीसकेको जानकारी दिए । कोषका विभिन्न कार्यहरुलाई थप व्यवस्थित गर्न कार्यविधिलाई कार्यान्वयनमा ल्याइसकेको उनको भनाई थियो ।
कार्यकारी निर्देशक नेपालले कोषले आवाश कर्जा बापत सहभागीलाई १५ वर्षको सुरु तलव मानको रकम वा ८० लाख रुपैया मध्ये जुन कम हुन्छ सो बराबरको रकम प्रदान गर्ने कार्य सुरु गरी सकेको धारणा राखे ।
कोषको चुक्ता पूँजी ३ अर्ब २७ करोड रुपैया पुगेको छ भने चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद मौज्दात रकम १ खर्ब ८४ अर्ब ९० करोड रुपैया रहेको छ । यो अवधिमा कोषले १ खर्ब ८३ अर्ब ९१ करोड लगानी गरेको छ ।
सो अवसरमा कोषका सञ्चालक इश्वरीप्रसाद अर्यालले कोषमा सीमित जनशक्ति रहेपनि सञ्चालनदेखी कोष नाफामा गएको बताउदै भने,‘कोषले सीमित क्षेत्रमा रहेको लगानीको अवधारणलाई विस्तार गर्नुपर्छ ’।
त्यसैगरी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देव गुरागाइले नागरिक पेन्सन योजनालाई बजेटमा समावेश गर्नुपर्ने, बजेट मार्फत कर छुटको सीमा बढाउनुपर्ने, कोष सरहकै अन्य संघ संस्थाले पाउने सुविधा कर्मचारीले पाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा कोषले २० वर्ष सेवा पुगेका कर्मचारीलाई दीर्घ सेवा पदक तथा उत्कृष्ठ कर्मचारीलाई सम्मान गरेको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया