
ग्रीन भेन्चर्स लिमिटेडले मंगलबारदेखि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा सर्वधारणमा माग भएको सेयरको ४.६३ गुणा बढी अर्थात १ अर्ब ३३ करोडको माग परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार बुधबार साँझ ५ बजेसम्ममा १० लाख ७१ हजार ५५२ जना आवेदकबाट १ अर्ब ३३ करोड ९ लाख ३९ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ९ हजार ३९० कित्ता सेयर खरीदको माग परेको हो ।
कम्पनीले मंगलबारदेखि सर्वसाधारणमा कुल ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशनमा ल्याएका थियोे । जसमध्ये ३ प्रतिशत अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात एक लाख ५६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन मागिएको थियो ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । मेरो सेयरको मोबाइल एप, मेरो सेयर सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । आईपीओ चैत ११ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्तम १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता तथा सो भन्दा बढी का लागि १० अंकले भाग जाने संख्यामा अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डवल बी आईएस रेटिङ्ग’ प्रदान गरेको छ । यसले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ । यस्तै उक्त सेयरेको नागरिक लगानी कोषले प्रत्याभुतकर्ता गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड लाख रुपैयाँ रहेको छ। आयोजना प्रभावित स्थानियलाई ३१ करोड २५ लाख रुपैयाँ र सर्वसाधारणलाई ३१ करोड २५ लाख रुपैयाँ गरी ६२ करोड ५० लाख रुपैयाँ बराबरको शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया