धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीको अनुमति मागेको छ ।
सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै लघुवित्त कम्पनीले फागुन २३ गते बोर्डमा आवेदन दिएको हो ।
लघुवित्तले जारी पूँजीको ३२.१० प्रतिशतले हुन आउने प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ अंकित दरका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ कित्ता आईपीओ निष्काशन गर्न अनुमित माग्दै बोर्डमा आवेदन दिएको हो ।
बाग्लुङ्ग नगरपालिका–२ मा केन्द्रीय कार्यालय रहेको लघुवित्तको हाल चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । बोर्डसँग माग गरेको ३ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।
चालु आवको पुस मसान्तसम्म आइपुग्दा धौलागिरी लघुवित्तले २ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ६१.४५ रुपैयाँ रहेको छ । २०७८ पुस मसान्तसम्ममा नेपालका लघुवित्तले २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४ हजार ४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाको कुल कर्जा लगानी तर्फ १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ ६२ करोड १४ लाख रूपैयाँ रहेकोमा अन्तर बैंक सापटी ६१ करोड ८० लाख रूपैयाँ रहेको छ । हाल जगेडा तथा कोषहरु तर्फ कुल १० करोड ३८ लाख रूपैयाँ रहेको छ ।
लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराईज क्यापिटल रहेको छ । बिक्री प्रबन्धकमा नियुक्तीसम्बन्धी सम्झौता पत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीन बहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठबीच २०७८ माघ १२ गते हस्ताक्षर भएको थियो ।
लघुवित्तले सर्वसाधारणलाई निष्काशन गर्न लागेको ३ लाख ३१ हजार कित्ता सेयरको प्रत्याभूतिका लागि प्रभु क्यापिटल लिमिटेडसँग स्म्भौता गरेको छ । सम्झौतामा धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रियस्तरको लघुवित्त संस्था हो । बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं.२, श्रीनगर टोलमा प्रधान कार्यालय अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया