स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई सुरु, ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छापिने

0
Shares

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाई आजदेखि सुरु हुनेभएको छ ।

निर्वाचन आयोगद्वारा आयोजित नियमित पत्रकार भेटमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र आयोगको निर्णयपछि छपाई आजदेखि सुरु हुने बताए ।

उनले कूल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख थान मतपत्र छपाई हुने जानकारी दिनुभयो । आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौँको हुनेछ ।

निर्वाचनमा राजनीतिक दललाई प्रचारप्रसार र मतदाता शिक्षाका लागि सहज होस् भन्ने हेतुले आयोगले एक लाख ८० हजार थान नमूना मतपत्र छपाई गरिसकेको छ । राजनीतिक दलको आधिकारिक पत्रका आधारमा सात हजारमा देशभरको तथा पाँच हजार तिरेर प्रदेशको मतदाता नामावली आयोगबाट लिने सकिने जानकारी दिइयो ।

जिल्लाबाट सम्बन्धित दलको पत्र वा उम्मेदवारको निवेदनका आधारमा जिल्लाभरको तीन हजार, पालिका तहको एक हजार तथा वडाको ५०० तिरेर सम्बन्धित जिल्ला निर्वाचन कार्यालयबाट मतदान नामावलीको विद्युतीयप्रति लिन सकिने व्यवस्था छ ।

निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका, निर्वाचन तालिम निर्देशिका, मतदान निर्देशिका र मतगणना निर्देशिका आयोगबाट पारित भई कार्यान्वयनमा आइसकेको सो अवसरमा जानकारी दिइयो ।
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार  १८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।