सेयर बजारमा चलखेलको नकारात्मक असर, उचाल्न खोज्दा झन् ठूलो पहिरो

0
Shares

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बन भएको प्रसङ्ग जोडेर सेयर बजारमा गरिएको चलखेलको प्रयास असफल हुँदा बजारमा झनै नकारात्मक असर देखिएको छ ।

गभर्नर निलम्बनको खबरहरु सार्वजनिक भएपछि सामाजिक सञ्जालहरुमा सेयर बजारले सकारात्मक लय लिने प्रकारका प्रचारबाजीहरु गरिएका थिए ।

गभर्नर अधिकारीले सेयर कर्जामा कडाई गर्नुका साथै ४ १२ को सीमा तोकिएका थिए । राष्ट्र बैंकको यो व्यवस्थाप्रति रुष्ट रहेका लगानीकर्ताले उनको निलम्बनपछि बजारमा उछाल आउने प्रचारबाजी गरेका थिए ।

बजारमा चलखेल गर्नेहरु सक्रिय हुँदा सोमबार बजार खुलेको पहिलो १० मिनेटमै नेप्से ४५ अंकले बढेको थियो । सोमबार प्रि ओपनिङ्ग सेसनमा नै नेप्से ७।४५ अंकले उक्लिएको थियो । नियमित सेसनको पहिलो १० मिनेटमै ४५ अंकले बढेको बजार त्यसपछि ओरालो लाग्न थाल्यो। बजार बन्द हुने समयसम्म आइपुग्दा आजको उच्च बिन्दुबाट ९० अंक तल झर्न पुग्यो । चलखेल गर्नेहरुले बजार खुल्नासाथ नेप्से ह्वात्तै उचालेर सेयर बिक्रीको क्रम बढाउन थाले जसको नाकारात्मक प्रभावले झनै ठूलो पहिरो गएको छ ।

सोमबार नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ बिन्दुमा झरेको छ । कारोबारमा आउका अधिकांश कम्पनीको मूल्यमा गिरावट आएपछि नेप्से उच्च अंकले ऋणात्मक बनेको हो । ठूला कम्पनीको कारोबार मापक सूचक सेन्सेटिभ इन्डेक्स ९.३८ अंकले घटेर ४५४.३७ बिन्दुमा झरेको छ ।

यसदिन कारोबारमा आएका १९९ कम्पनीको सेयरमूल्य घट्यो भने ६ कम्पनीको सेयरमूल्य स्थीर रहँदा २८ कम्पनीको भाउ मात्र बढेको छ ।
सोमबार २३३ कम्पनीका ५० लाख ९५ हजार ८३४ कित्ता सेयर ४० हजार ५०९ संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँमा समेटिएको छ । आज कारोबारमा आएका सबै उपसमुहगत सूचक ऋणात्मक बनेका छन् ।अन्यको सूचक सर्वाधिक ४.६२ प्रतिशतले घट्दा जीवन बीमा ३ तथा ब्यापार, होटल, जलविद्युत, फाइनान्स, उत्पादन र लगानी सूचक पनि २ प्रतिशत अधिक घटेका छन् ।

आजको कारोबारमा नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्दा जाल्पा सामुदायिक लघुवित्तको सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेको छ । नेष्डो समृद्ध लघुवित्तको अन्तिम पटक १८७० रुपैयाँ र जाल्पाको ४९१.१० रुपैयाँमा अन्तिम पटक कारोबार भएको छ ।

यसैगरी उता इमर्जिङ्ग नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । इमर्जिङ्ग नेपालको सेयरमूल्य ९.९८ प्रतिशत घटेर १००१ रुपैयाँमा झर्दा राष्ट्र उत्थानको १३८०.१० रुपैयाँमा झरेको छ ।

आज नेपाल लाइफको सेयरमूल्य घटेर उच्च कारोबार भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४० रुपैयाँसम्म झरेकाले लगानीकर्ताको आकर्षण बढ्दा १६ करोड ५२ लाख रुपैयाँको सेयर कारोबारमा आएको छ । यसैगरी निफ्रा ७.२१ करोड, नबिल बै.क ६.९२ करोड, एनआईसी एशिया बैंक ६.८६ करोड, हिमालयन डिष्टिलरी ६.७८ करोड र सूर्या लाइफको ६.७८ करोडको सेयर कारोबार भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ चैत्र २०७८, सोमबार  १५ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।