हिमालयन हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा जेठ ९ गतेसम्ममा १ करोड २६ लाख रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार १३१ वटा आवेदन मार्फत १ करोड २६ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको १ लाख २६ हजार ६७६ कित्ताको माग परेको हो । यो स्थानीय बासिन्दाबाट माग भएको सेयरको १४.०८ प्रतिशत मात्र हो ।
कम्पनीको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिन्छ । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । सो आईपीओमा आवेदन दिने म्याद छिटोमा जेठ ८ गतेसम्म रहेकोमा उक्त समयमा सबै सेयर खरीदका लागि आवेदन नपरेपछि कम्पनीले म्याद थप गरेको हो ।
स्थानीय बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलवा आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत शेयर निष्काशन गरेको हो । यस अनुसार कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १, २, ३, ४, ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनी इक्रा नेपालबाट आईपीओ निष्काशनका लागि रेटिङ्ग गराएको छ । सो रेटिङ्गमा कम्पनीलाई ‘इक्रा एनपी आईआर बी प्लस रेटिङ्ग’ प्रदान गरिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया