राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि जेठ २४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र रुकुम पूर्वी जिल्ला र रुकुम पश्चिम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि पहिलो चरणमा प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता सेयर बिक्री खुला गर्न लागेको हो ।
कम्पनीले निष्काशन गर्न लागेको उक्त साधारण सेयरमा स्थानीयले असार ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा बिक्री खुला गरिउको सबै सेयर बिक्री नभएको खण्डमा भने ढिलोमा असार २२ गतेसम्म सेयर खुला नै रहने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
न्यूनतम १० कित्ता देखि अधिकतममा ६ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
तोकिएको क्षेत्रका स्थानीय बासिन्दाले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने उल्लेख छ । यस्तै सिद्धार्थ बैंकको पुथा उत्तरगंगा र मुसिकोट शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको छिप्रीदह र मुसिकोट शाखा कार्यालय र प्रभु बैंकको मुसिकोट शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी आईआर सिंगल बी प्लस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरुमा दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
राप्ती हाइड्रोले सेबोनबाट जेठ १० गते मंगलबार अंकित मूल्य १०० रुपैयाँ २९ करोड ४१ लाख रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ जारी गर्न अनुमति प्राप्त गरेको थियो । राप्ती हाइड्रोले जारी पूँजीको ४८ प्रतिशत सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो ।
कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ रहेको छ । जसमध्ये संस्थापक सेयरधनीबाट ३१ करोड ८६ लाख २५ हजार ८०० रुपैयाँ चुक्ता भैसकेको छ । २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको आईपीओ बिक्रीपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २७ लाख ६६ हजार ८०० रुपैयाँ पुग्नेछ ।
कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया