संस्थानहरुको खर्च ९ प्रतिशतले बढेपछि आयकर योगदानमा उच्च गिरावट


सरकारको पूर्ण वा आशिक लगानीमा सञ्चालनमा रहेका सार्वजनिक संस्थाहरुको आयकर योगदानमा उच्च गिरावट आएको छ । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २०७७/०७८ मा संस्थानहरुको आम्दानी कम तथा खर्च धेरै भएपछि आयकर योगदानमा कमी आएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको सञ्चितकोषमा सार्वजनिक संस्थाले कुल १४ अर्ब ८२ करोड ९ लाख आयकर बुझाएका छन् । यो आयकर रकम आर्थिक वर्ष २०७६/०७७ को तुलनामा २३.४८ प्रतिशतले थोरै हो ।

संस्थानहरुको आयकर योगदानलाई क्षेत्रगत रुपमा हेर्दा वित्तीय क्षेत्रको सबैभन्दा धेरै ६ अर्ब ४८ करोड ९७ लाख रुपैयाँ रहेको छ । यो भनेको गत आर्थिक वर्षमा संस्थाहरुले बुझाएको कुल आयकरको ४३.७९ प्रतिशत हो । आर्थिक वर्ष २०७७/०७८ मा औद्योगिक क्षेत्रको सबैभन्दा थोरै २ करोड १६ लाख रुपैयाँ मात्र आयकर योगदान रहको छ । गत आवमा औद्योगिक क्षेत्रका संस्थाहरुले सरकारलाई बुझाएको कुल आयकरको ०.१५ प्रतिशत मात्र हो । गत आवमा औद्योगिक क्षेत्रका संस्थानहरु अधिकासं नोक्सानीमा रहेका छन् ।

नेपाल सरकारले प्राप्त गरेको कुल आयकरमा आर्थिक वर्ष २०७६/०७७ मा संस्थानको योगदान ८.८२ प्रतिशत रहेकोमा गत आवमा घटेर ६.२३ प्रतिशतमा सिमति भएको छ । गत आवमा सरकारलाई धरै आयकर योगदान गर्नेमा संस्थानमा नेपाल दुरसञ्चार कम्पनी रहेको छ । टेलिकमले गत आवमा ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ आयकर योगदान गरेको बुझाएको छ । गत आवमा नेपाल नागरिक उड्डयन प्राधिकरणले २ अर्ब ४ करोड २७ लाख रुपैयाँ, कृषि विकास बैंकले एक अर्ब ६६ करोड, राष्ट्रिय वाणिज्य बंैंकले एक अर्ब २८ करोड ३२ लाख र नेपाल बैंकले एक अर्ब २७ करोड ५९ लाख रुपैयाँ आयकर सरकारलाई बुझाएका छन् ।

गत आवमा सञ्चालनमा रहेका ४२ मध्ये १९ संस्थाहरु नोक्सानीमा छन । आर्थिक वर्ष २०७६/०७७ मा संस्थानहरुले ४ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ आम्दानी गरेकोमा गत आर्थिक वर्षमा ४ खर्ब ७८ अर्ब १७ करोड रुपैयाँ मात्र आम्दानी गरेका छन् । यो आम्दानी अघिल्लो आवको तुलनामा ३.८३ प्रतिशतले मात्र धरै हो ।

त्यसैगरी संस्थाहरुले आर्थिक वर्ष २०७६/०७७ मा ४ खर्ब १२ अर्ब ९ करोड रुपैयाँ कुल खर्च गरेकोमा गत आवमा ९.६४ प्रतिशतले वृद्धि भएर ४ खर्ब ५३ अर्ब २० करोड पुगेको छ । संस्थानहरुको आम्दानीमा भएको सुधार भन्दा खर्च धेरै ,भएपछि सरकारलाई जाने आकरमा कमी आएको हो ।

आर्थिक वर्ष २०७६÷७७ मा ४८ अर्ब नाफा गरेका सरकारी संस्थाले गत आवमा २६ अर्ब ३५ करोड ८८ लाख रुपौयँ मात्र नाफा गरेका छन् । यो नाफा अघिल्लो आवको तुलनामा ४५ प्रतिशतले थोरै हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।