श्वेतगंगा हाइड्रोपावरको पहिलो चरणको आईपीओ जेठ २३ गतेदेखि

0
Shares

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले जेठ २३ गतेदेखि पहिलो चरणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुङ्गा जिल्लाका स्थानीय बासिन्दाहरुका लागि १५ लाख ९३ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीका अनुसार पहिलो चरणमा कम्पनीले जारी पूँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर बिक्रीमा ल्याउनेछ । यसअनुसार प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख ९३ हजार कित्ता साधारण सेयर निष्काशन गर्नेछ ।

कम्पनीले कुल जारी गर्ने १५ लाख ९३ हजार कित्तामध्ये कुल सेयरको ७० प्रतिशत अर्थात ११ लाख १५ हजार १०० कित्ता आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्काशन हुनेछ ।

यस्तै २५ प्रतिशत अर्थात ३ लाख ९८ हजार २५० कित्ता आयोजनाको प्रसारण लाईन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि निष्काशन गरिएको छ ।

यसैगरी बाँकी ५ प्रतिशत अर्थात ७९ हजार ६५० कित्ता रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाकोे वडा नम्बर १, २ र ३ का स्थानीयका लागि बाँडफाँड गरिने जनाइएको छ ।

उक्त आईपीओमा स्थानीय बासिन्दाले असार ६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिभित्र सबै सेयर बिक्री नभउको खण्डमा भने असार २१ गतेसम्म आईपीओ खुला हुनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सकिनेछ । यसका साथै स्थानीय तहको बासिन्दा प्रमाणित हुने परिचयपत्रका सहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

कम्पनीले आईपीओ निष्काशनका लागि रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालबाट साख मूल्याङ्कन गरेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीको आईपीओलाई ‘केयर एनपी डबल बी आइएस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले निमार्ण गरेको २८.१० मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा लक्ष्मी बैंकको अगुवाईमा ५ वटा बैंक तथा वित्तीय संस्थाहरुले लगानी गरेको छन् । जसमा लक्ष्मी बैंक,कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक र प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी ८० करोड रुपैयाँ सहित) कुल ५ अर्ब ५९ करोड लागतको ७५ प्रतिशत अर्थात ४ अर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार  १० : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।