बिन्ध्यबासिनी हाइड्रोको आईपीओमा पहिलो दिनमै तीन गुणा आवेदन, साढे ४१ करोडको माग

0
Shares

बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको  आईपीओमा पहिलो दिनमै सर्वसाधारणमा निष्काशन खुला गरिएको सेयरको तीन गुणा बढी बिक्री माग परेको छ । हाइड्रोको आईपीओमा पहिलो दिन शुक्रबार नै साढे ४१ करोड रुपैयाँ बराबरको बिक्री भएको हाे ।

जेठ २० गतेशुक्रबारदेखि सर्वसाधारणमा जारी गरेको १५ करोड रुपैयाँमध्ये १३ करोड ६५ लाखको सेयरमा कम्पनीले सर्वसाधारणबाट आवेदन मागेको थियो ।

कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार शुक्रबार साढे ६ बजेसम्ममा ३ लाख ३६ हजार ७०८ वटा आवेदन मार्फत ४१ करोड ६१ लाख ३२ हजार रुपैयाँ बराबरको ४१ लाख ६१ हजार ३२० कित्ता सेयरको माग भएको हो । उक्त संख्या सर्वसाधारणमा निष्काशन गरिएको सेयरको ३०४.८६ प्रतिशत हुन आउँछ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो । कुल निष्काशन गरिने सेयरमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका इकाईका लागि सुरक्षित गरिएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आईपीओ जेठ २० गते शुक्रबारदेखि २५ गते बुधबारसम्म बिक्री खुला हुनेछ । आईपीओमा मेरो सेयरको मोवाइल एप, तथा वेबसाइटबाट आवेदन दिन सकिनेछ । यसैगरी नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि कम्पनीे गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस आईएस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिममा रहेको संकेत गर्दछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दामा जारी पूँजीको १० प्रतिशत आईपीओ वितरण गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १५ प्रतिशत सेयर बिक्री खुला गरिएको हो । कम्पनीमा जारी पूँजी १ अर्ब रुपैयाँ रहेको यस कम्पनीको हाल संस्थापक तर्फबाट चुक्ता भएको पूँजी ७५ करोड रुपैयाँ रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७र७८ सम्ममा वास्तविक प्रतिसेयर नेटवर्थ ११९.३४ रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ९.६८ रुपैयाँ छ । कम्पनीले कास्की जिल्लामा ८।८ मेगावाट क्षमताको रुदि खोला ए जलविद्युत आयोजना र ६.६ मेगावाट क्षमताको रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गरिरहेको छ ।दि खोला ए जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५५ करोड ५० लाख ९९ हजार र रुदि खोला बी जलविद्युत आयोजनाको निर्माण लागत १ अर्ब ३३ करोड ९७ लाख २८ हजार रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०७९, शनिबार  १४ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।