
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्नुपूर्व आगामी ४/१२ को नीतिका विषयमा आफू बोल्न नमिल्ने बताएकै दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी मौद्रिक नीति सम्बन्धी राष्ट्र बैंकसँग गरेको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले उक्त कुरा बताएका हुन् । सोही दिन नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
अर्थ समितिमा भएको छलफलका क्रममा समिति सभापति कृष्णप्रसाद दाहालले सेयर बजार ओरालो लागेको र यसलाई सम्बोधन गर्न मौद्रिक नीतिले के व्यवस्था गर्न लागेको छ भन्दै प्रश्न गरेका थिए । जवाफमा गभर्नर अधिकारीले सेयर बजारको नियामक निकाय छुट्टै भएकाले यस विषयमा आफू बोल्न नमिल्ने बताएका थिए ।
गभर्नर अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट सेयर बजारमा ४-१२ को नीति ल्याएका थिए । सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था मौद्रिक नीतिमा गभर्नर अधिकारीले गरेका थिए ।
सोमबार नेप्से सूचक ७७.०१ अंकले घटेर १९१५.६१ विन्दुमा झरेको छ । यस दिन २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर कारोबार भएको छ।
सोमबार बढ्ने कम्पनीमा एउटा सोल्टी होटल मात्रै रहेको छ। होटलको शेयरमूल्य ०.५१ प्रतिशतले बढेको छ भने अन्य सबै सूचीकृत कम्पनीको सेयरमूल्य घटेको छ।
यस दिन ग्रामिण विकास लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने किसान लघुवित्तको ९.१५ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.०९ प्रतिशत,माउन्टेन हाइड्रोको ९.०९ प्रतिशत र पोखरा फाइनान्सको ८.९१ प्रतिशतले घटेको छ ।
सोमबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै ११ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने एनआइसी एशिया बैंकको ८ करोड ७१ लाख, अपर तामाकोशीको ८ करोड ४१ लाख, एशियन लाइफको ८ करोड १७ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया