अपर तामाकोशी हाइड्रोपावरले चुक्ता पुँजीको एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको २५७ औं बैठकले चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको बताए ।
उक्त प्रस्ताव स्वीकृतिका लागि १४ औं वार्षिक साधारण सभामा पेश गर्ने निर्णय भएको छ । हाल अपर तामाकोशी हाइड्रोपावरको चुक्ता पुँजी १० अर्ब ५९ कराेड रुपैयाँ रहेको छ । प्रस्तावित एक बराबर एक अनुपातमा हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
प्रस्तावित हकप्रदलाई कम्पनीको आगामी वार्षिक साधारण सभा मार्फत स्वीकृति गरेपछि विद्युत नियमन आयोगबाट अनुमति लिनुपर्छ । आयोगबाट अनुमति पाएपछि कम्पनीले पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोडले स्वीकृति दिनुपर्छ । कम्पनीले हकप्रद सेयर बिक्री सम्बन्धी जानकारी नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज एवं सिडिएस एण्ड क्लियरिङ लिमिटेड तथा सनराइज क्यापिटल लिमिटेडलाई गराएको छ ।
आयोजनाको लागत करिब ९० अर्ब पुगेको हुनाले कम्पनीले दायित्व घटाउनका लागि सेयरधनीबाट थप पुँजी संकलन गर्न लागेको हो । आयोजनाबाट केही वर्षसम्म प्रतिफल नपाउने हुनाले हकप्रदको लोभमा उच्च मूल्यमा सेयर खरिद गर्नुभन्दा अन्य कम्पनीहरुबाट आउने लाभांश र यस कम्पनीको सेयरमा गरिने लगानीको तुलनात्मक रुपमा विश्लेषण गरेर मात्र लगानी गर्नुपर्ने अनुभवी लगानीकर्ताहरु बताउँछन् ।
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले हकप्रदबाट प्राप्त हुने रकम कम्पनीको चुक्ता पुँजी वृद्धि गर्ने र निर्माणाधीन रोल्वालिङ जलविद्युत् आयोजनामा लगानी जुटाउने लक्ष्य राखेको छ ।
कूल ४५६ मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको यो आयोजनामध्ये हालसम्मकै यो ठूलो आयोजना हो । उक्त आयोजना निर्माण सम्पन्न भई प्रणालीमा जोडिएपछि मुलुकको ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको छ । विसं २०७८ असार २१ गते उद्घाटन भई गत साउनको दोस्रो सातादेखि नियमितरुपमा सञ्चालन रहेको उक्त आयोजनाले वर्षाकालमा मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन समेत सहयोग गरेको छ ।
प्राकृतिक प्रकोप, विभिन्न अवरोधलगायत कारणले आयोजनाको समय र लागत दुवै बढ्न गयो । आयोजनाको सुरुआती लागत ३५ अर्ब २९ करोड हुने भनिएको थियो । त्यसमा ब्याज, अमेरिकी डलरको मूल्यमा भएको वृद्धि लगायत विषय समावेश गरिएको थिएन । आयोजना निर्माण सम्पन्न हुँदा ८८ अर्ब बराबरको खर्च भएको छ । कम्पनीको कूल लागत ५२ अर्ब बराबर पुगेको छ । त्यसमा ब्याज र अन्य थप खर्च थप जोड्दा ८८ अर्ब बराबर पुगेको हो ।
कम्पनीमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान दुई/दुई प्रतिशत सेयर रहेको छ । यस्तै सर्वसाधारणको १५ प्रतिशत, दोलखा जिल्लावासीको १० प्रतिशत तथा २४ प्रतिशत सेयर कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको रहेको छ ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया