मन्दाकिनी हाइड्रोपावर लिमिटेडले साउन ९ गते साेमबारदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ मूल्यको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि लगानीकर्ताले मेरो सेयरको मोवाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्। आईपीओमा आवेदन दिन अन्तिम दिन साउन १३ गते सोमबारसम्म रहेको छ ।
कम्पनीले निष्काशन गर्ने कुल सेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका इकाईहरुका लागि सुरक्षित गरिएको छ । बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि लगानीकर्ताले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस आईएस’ रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त संस्थाहरु दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ । उत्त, रेटिङ्गको बैधता आगामी असोज १६ गतेसम्म रहेको छ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीको बारेमा
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा ४ मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । विसं २०७४ मंसिर २३ गतेदेखि आयोजना पूर्ण सञ्चालनमा रहेको छ । प्रतिमेगावाट लागत २० करोड ७७ लाख रहेकाले अयोजना महङ्गो नै देखिएको छ । कुल ८३ करोड १० लाख १२ हजार लगागत रहेको आयोजनाबाट साधारण लगानी फिर्ता हुने समय ९.२४ वर्ष र डिस्काउन्टमा १३.३५ वर्ष रहेको उल्लेख छ ।
वित्तीय अवस्थाको आधारमा हेर्दा गत आर्थिक वर्ष २०७७।७८ सम्म कम्पनीले ८४ लाख ४२ हजार नाफा आर्जन गर्दा प्रति सेयर आम्दानी ३.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ रहेको छ । कम्पनीको गत आवको अन्त्यसम्ममा ५ करोड ४९ लाख ७१ हजार आर्जन भई वार्षिक प्रति सेयर आम्दानी ७.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ रहने कम्पनीको प्रक्षेपण छ ।
यस्तै चालु आवको अन्त्यसम्ममा ७ करोड ५९ लाख ७२ हजार आर्जन भई वार्षिक प्रति सेयर आम्दानी ३.५७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ रहेने तथा आव २०८०।८१ मा पुग्दा १० करोड २७ लाख ६१ हजार आर्जन भई वार्षिक प्रति सेयर आम्दानी ४.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ हुने आंकलन छ । आव २०७७।७८ मा नेटवर्थमा औषत प्रतिफल ७.२४ प्रतिशत रहेकोमा तीन वर्षपछि क्रमश घट्दै ३.८८ मा झर्ने आंकलन कम्पनीको छ ।
संस्थापक सेयरधनीबाट जारी पुँजीको ७० प्रतिशत अर्थात ४१ करोड १६ लाख २५ हजार ९०० चुक्ता भएको छ । यस्तै स्थानीय बासिन्दाहरुबाट १० प्रतिशतले हुन आउने ५ करोड ८८ लाख ३ हजार ७०० रुपैयाँ भुक्तानी भैसकेको छ भने सर्वसाधारणबाट २० प्रतिशतले हुन आउने ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेपछि कम्पनीाके चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँ पुग्नेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया