धितोपत्र नीति: एसएमई प्लेटफर्म, ब्रोकर लाइसेन्स, पिइभिसी लगायतका विषय सम्बोधन गर्ने

0
Shares

चालु आर्थिक वर्षमा पुँजी बजारमा के कस्ता सुधारका कामहरु होलान भन्ने चासो आम लगानीकर्तामा छ । नीतिगत व्यवस्थामा हुने फेरबदलका कारण प्यानीक हुँदै आएका सेयर बजारका लगानीकर्ता धितोपत्र बोर्डले ल्याउने नीति तथा कार्यक्रमप्रति आशावादी छन् ।

चालु आर्थिक वर्षको बजेट, मौद्रिक नीति लगायतमा भएका व्यवस्थाले बजारमा उतारचढाव देखिइरहेको छ । यो अवस्थाका बिच धितोपत्र बोर्डले आज सार्वजनिक गर्ने धितोपत्र नीतिले बजार सुधारका विषयलाई सम्बोधन गर्ने अपेक्षा लगानीकर्तामा छ । जसका कारण बुधबार दिउँसोदेखि बजार उकालो लागिरहेको छ ।

बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजी बजार सुधार सहितका योजना अघि बढाउने विषय समेट्ने अपेक्षा छ । नयाँ ब्रोकर लाइसेन्स थप गर्न अध्ययन गर्ने, एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउने, नयाँ स्टक एक्सचेञ्ज थप गर्ने विषयलाई नीतिले सम्बोधन गर्नेछ ।

कार्यान्वायनमा जान सकिने किसिमका सामान्य विषय वस्तुलाई धितोपत्र बोर्डले मुख्य प्राथमिकतामा राख्नेछ भने अन्य विषयलाई पनि चरणबद्ध रुपमा कार्ययोजना सहित नीति सार्वजनिक गर्न लागेको हो । यद्यपी वाणिज्य बैंकलाई ब्रोकर लाइसेन्स दिने सम्बन्धमा भने बोर्डले प्राथमिकता नदेखाउने बुझिएको छ ।

नयाँ ब्रोकर लाइसेन्स बितरणका साथै मार्जिन लेण्डिङको प्रभावकारी कार्यान्वायन गर्ने सम्बन्धमा पनि नीतिले सम्बोधन गर्नेछ ।

मर्जरमा जाने बैंक वित्तीय संस्थाको सेयर कारोबार रोक्का गर्ने प्रावधानलाई राष्ट्र बैंकले खारेज गर्दै धितोपत्र बोर्डलाई जिम्मा लगाएको सन्दर्भमा यसलाई पनि नीतिले अघि बढाउने बाटो खोल्ने अपेक्षा लगानीकर्ताले गरेका छन् ।

बजारमा हुने अस्वभाविक किसिमका चलखेल नियन्त्रण तथा सचेतना बिस्तारका कार्यक्रमलाई प्रभावकारी बनाउने विषय सम्बोधन हुने आश बजारले गरेको छ । बजारमा हुने गलत अभ्यास नियन्त्रणका लागि सुक्ष्म रुपमा नियमन तथा अनुसन्धान गर्ने संयन्त्रमा नीतिले जोड दिने बुझिएको छ । यसबाट बजार अनुसासित हुँदा आम लगानीकर्ता फस्दै आएका घटनामा केही नियन्त्रण हुने अपेक्षा गरिएको छ ।

बजेटमा भएको व्यवस्था अनुसार विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि प्राथमिक सेयरमा १० प्रतिशत कोटा छुट्याउने व्यवस्था कार्यान्वयनको बाटो नीतिले अघि सार्नेछ भने गैर आवासीय नेपालीको बजार प्रवेश, अन्य बजार सम्बद्द नियमावलीको तर्जुमा, बुक बिल्डिङ्गमा अटोमेटिक सिस्टम, अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम, रियल सेक्टर कम्पनीलाई बजारमा आउँदा प्रोत्साहन गर्ने, बोर्डको क्षमता सुधार गरी कार्यप्रणाली र सेवामा सधुार गर्ने, धितोपत्र बजारमा नयाँ औजारको विकास गर्ने, वस्तु विनिमय बजार सञ्चालन गर्ने तथा प्राइभेट इक्वीटी भेञ्चर क्यापिटल (पिइभिसी) सञ्चालनका मापदण्ड लगायत विषय पनि नीतिमा समावेश हुनेछन् ।

बोर्डले आज ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।