हिमालय हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल

0
Shares

हिमालयन हाइड्रोपावरको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार क्यापिटललाई  सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

ग्लोबल आइएमई क्यापीटल लि.को रजिष्टर्ड कार्यालय, नक्साल, काठमाण्डौंमा आयोजना गरिएको एक कार्यक्रममा उक्त हाइड्रोपावर कम्पनी र क्यापीटल बीच सेयर रजिष्ट्रार सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा हाइड्रोपावर कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक के.सी. र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका थिए ।

अब हिमालयन हाइड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटल लिमिटेड नक्साल मार्फत हुनेछ ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब ७० करोड रुपैयाँ र चुक्ता पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओअघि कम्पनीको चुक्ता पूँजी ८५ करोड २३ लाख रुपैयाँ थियो ।

हिमालयन हाइड्रोपावरले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) सहितको कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भैसकेको छ । सर्वसाधारणका लागि खुला गरेको आईपीओ असार २८ गते मंगलबार कम्पनीले बाँडफाँड गरेकोमा साउन २० गते शुक्रबार धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत गरेको हो ।

आइतबारदेखि कम्पनीको धितोपत्र दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएपनि आज स्पेशल प्रि ओपनिङ्ग सेसनमा कारोबार म्याचिङ्ग हुन नसकेपछि आज कम्पनीको धितोपत्र दोस्रो बजारमा कारोबारमा आउन सकेन । नेप्सेले कम्पनीको सेयर कारोबारका लागि एचएचएल (HHL)  कारोबार संकेत दिएको छ ।

यस्तै पहिलो कारोबारका लागि न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतम २२८.९९ रुपैयाँसम्मको अधिकतम कारोबार रेञ्ज तोकेको छ । नेप्सेले कुनैपनि कम्पनीको परिष्कृत वित्तीय विवरणका आधरमा निधर्भारण भएको प्रतिसेयर नेटवर्थको अधिकतम तीन गुणासम्म पहिलो पटकको कारोबारका लागि रेञ्ज निर्धारण गर्ने गरेको छ ।

कम्पनीको सेयर १ लाख ८३ हजार ४७ जना आवेदकलाई गोलाप्रथा मार्फत १० कित्ता सेयर र अन्य दुई जना आवेदकले ११ कित्ता सेयर प्राप्त गरेका थिए । आवेदन दिएकामध्ये १४ लाख ५७ हजार ५०५ जनाले सेयर पाउन सकेका थिएनन् । हाइड्रोपावरले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको कुल १९ लाख ६८ हजार २५० कित्ता आईपीओ सेयर असार १५ गतेदेखि १९ गतेसम्मसम्म सेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९३ हजार ४१३ कित्ता सामूहिक लगानी कोषका लागि र ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि छुट्याएको थियो । बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरी बाँडफाँड गरिएको थियो ।

कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकामा १२ मेगावाटको नामार्जुन मादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७७ असोज १२ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको र उत्पादित विद्युतशक्ति राष्ट्रिय प्रसारण लाईनमा जोडिइसकेको छ । यस कम्पनीको अधिकृत पुँजी १ अर्ब ९८ करोड तथा जारी पुँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ । सर्वसाधारण समुहतर्फ छुट्याइएको २०.५५ प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयरमध्ये आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको स्थानीय बासिन्दाहरुको लागि ८.२२ प्रतिशत अर्थात ९ करोड र सर्वसाधारणको लागि १२.३३ प्रतिशत अर्थात १३.५० करोड बराबरको सेयर हालै मात्र सार्वजनिक निष्कासन गरी बाँडफाँड समेत गरिसकिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार  १२ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।