नागरिक लगानी कोषको एक अर्ब लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

0
Shares

नागरिक लगानी कोषको १ अर्ब ०३ करोड २६ लाख रुपैयाँ बराबरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कोषले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ साउन २५ गते बुधबार सेयर दाखिल खारेजी मिति ( बुकक्लोज) तोकेको छ ।

बुकक्लोज अनुसार साउन २४ गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने नागरिक लगानी कोषका लगानीकर्ताले मात्र प्रस्तावित उक्त लाभांश पाउन र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

लाभांश पारित गर्न कोषले भदौ ६ गते कोषको नयाँ भवन नयाँबानेश्वरमा दिउँसो ३ बजे २७ औं वार्षिक साधारण सभा डाकेको छ ।

२७ औं वार्षिक साधारण सभाले कोषको आर्थिक वर्ष २०७७/७८ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याइएको प्रस्तावित ३० प्रतिशत बोनस सेयर र १.५७८९ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्नेछ ।

कोषका सञ्चालक समितिको २०७९ असार ११ गते शनिबारको बैठकले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कोषले सेयरधनीहरुलाई कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कोषको असार ११ गते शनिबार साँझ सम्पन्न ३८४४ औं बैठकले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशतले हुन आउने ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यसैगरी सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने कोषको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ साल असार मसान्तको वासलात, नाफा।नोक्सान हिसाब र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने र कोषको सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।

प्रस्तावित उक्त लाभांश कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र लगानिकर्तालाई वितरण हुनेछ । हाल ३ अर्ब २७ करोड रुपैयाँ रहेको कोषको प्रस्तावित बोनस वितरणपछि चुक्ता पुँजी ४ अर्ब २५ करोड १० लाख रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ साउन २०७९, मंगलबार  ०९ : ५२ बजे