लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको निक्षेप संकलन लागत बढ्दा गत आर्थिक वर्ष २०७८।७९ को चौथो त्रैमाससम्म कम्पनीको खुद नाफा १८.४८ प्रतिशतले घटेको छ ।
सार्वजनिक वितीय विवरण अनुसार लघुवित्तको कस्ट अफ फण्ड गत आवमा ६.६२ प्रतिशतबाट करिब ५० प्रतिशतले बढेर ९.८० प्रतिशत पुगेको छ । जसको कारण लघुवित्तको खुद ब्याज आम्दानी साढे तीन प्रतिशतको सामान्य वृद्धि हुँदा सञ्चालन नाफा र खुद नाफा दुबै घट्न पुगेको हो ।
लघुवित्त संस्थाले गत आवमा १६ करोड ७ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको यहि अवधिमा लघुवित्तले १९ करोड ७१ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी २० प्रतिशत बढेर ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ पुगेको छ । यस्तै जगेडा कोषमा भने २.४६ प्रतिशत घटेर १६ करोड ४१ लाख ५० हजार रुपैयाँ मात्र सञ्चित छ ।
लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । असार मसान्तसम्म लघुवित्तले २ अर्ब ५५ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन तथा ४ अर्ब ४५ करोड २२ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ७२ करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा लघुवित्तको कर्जा, निक्षेप र सापटी तीनवटै २० प्रतिशतभन्दा बढीले बढेको हो।
कम्पनीको खुद ब्याज आम्दानी ३.४० प्रतिशतले बढेर ५३करोड ५२ लाख १३ हजार कायम हुँदा सञ्चालन नाफा भने १७.४७ प्रतिशतले घटेर २३ करोड ६७ लाख ५३ हजारमा झरेको छ ।
कम्पनीको खराब कर्जा अनुपात ३.२१ प्रतिशत छ । नाफा घटेसँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६१.६० रुपैयाँबाट १९.७५ रुपैयाँले घटेर ४१.८५ रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २२०.५६ रुपैयाँ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया