साताको चौथो कारोबार दिन बुधबार सेयर बजार तीव्र उतार चढावका बीच पाँच अंकले घटेर बन्द भएको छ । तरलता र ब्याजदरको चुपुवामा परेको सेयर बजार लाभांश सिजनमा नै ऋणात्मक बन्दै आएको छ ।
पछिल्लो तीन दिनमा नेप्से सूचक ६६.१४ अंकले घटेको हो । बुधबार ५.११, मंगलबार ४३.३५ र सोमबार १७.६८ अंकले नेप्से घटेको हो । चारदिनमा ८३ अंक घटेपछि आइतबार भने सूचक १०.२७ अंकले बढेको थियो ।
निकै घटबढ देखिएको आजको बजारमा कारोबारमा आएका १३ मध्ये ११ उपसमुहगत सूचक ऋणात्मक बनेका छन् । सूचकसँगै आज कारोबार रकम पनि घटेर २ अर्बभन्दा तल झरेको छ ।
बुधबार नेप्से ५.११ अंकले घटेर २०५७.६८ अंक झरेर कारोबार बन्द भएको छ । आज कारोबारमा आएका २१८ कम्पनीमध्ये १४१ कम्पनीको सेयर मुल्यमा गिरावट आएको छ भने ६३ कम्पनीको सेयर मुल्य बढेको छ । १४ कम्पनीको भाउ स्थीर रह्यो ।
आज दिनभरमा २१८ कम्पनीका ४६ लाख ४० हजार ८४४ कित्ता सेयर ३६ हजार १३४ वटा संख्यामा किनबेच हुँदा कारोबार रकम १ अर्ब ९३ करोड ५५ लाख २० हजार रुपैयाँमा समेटिएको छ । मंगलबार २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज ८८ करोडले कारोबार घटेको हो ।
बुधबार नागरिक लगानी कोषको सर्वाधिक १० करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । ३० प्रतिशत बोनसमा सेयरमूल्य समायोजनपछि कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । २२१४.६२ रुपैयाँमा कारोबार खुलेको कोषको सेयरमूल्य ३९.३८ रुपैयाँ बढेर २२५४ रुपैयाँ पुगेको हो । दोस्रो ठूलो कारोबार भएको शिवम् सिमेन्टको ६ करोड ८८ लाख र तेस्रो हिमालयन डिष्टिलरीको ६ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नबिल बैंक ६ करोड ४६ लाख र नेपाल टेलिकमको ४ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आजको बजारमा हिमालयन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कुस्त कमाएका छन् । कम्पनीका सेयरमूल्य लगातार तीन दिनसम्म बढेको हो । आज लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको मूल्य बढेर ३०३.३० रुपैयाँ पुगेको छ । यस्तै यूनिलिभर नेपालको मूल्य ४.३० प्रतिशत, सिटिजन्स म्युचुअल फण्डको इकाईमूल्य ४ प्रतिशत, विन नेपाल लघुवित्तको ३.५२ प्रतिशत र उपकार लघुवित्तको सेयरमूल्य २.८२ प्रतिशतका दरले बढेको छ ।
आज मर्जर पश्चात बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयरसर्वाधिक घटेको छ । मर्जरका कारण लामो समय कारोबार रोक्का रहेको कम्पनीको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएपछि भोलिपल्टै ९.९९ प्रतिशतले सेयरमूल्य घटेको हो । कम्पनीको सेयरमूल्य ५०.९८ रुपैयाँ घटेर ४५९.५० रुपैयाँमा झरेको छ ।
नेप्सेले मर्जर पश्चात पहिलो कारोबारको लागि ५१० रुपैयाँ ४८ पैसा ओपनिङ्ग रेन्ज दिएपछि सोही भाउमा कारोबार खुलेको थियो । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच १ः०.८५ अनुपातमा मर्जर सम्पन्न भई साउन १ गतेदेखि हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्दै आएको छन् ।
यसैगरी हिमालयन पावर पार्टनर, गुडबिल फाइनान्स, सानिमा इक्वीटी फण्ड, लक्ष्मी लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स, र रिभर फल्स पावर लिमिटेडको सेयरमूय पनि ३ प्रतिशतभन्दा बढीले घटेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया