मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिन मात्र रोकिने, ६ महिनामा संयुक्त कारोबार  गर्नुपर्ने 


नेपाल धितोपत्र बोर्डमा मर्जरमा गएका संस्थाको सेयर कारोबार १५ दिन मात्र रोक्का हुने भएको छ । बोर्डले मर्जरका कारण वर्षौंसम्म सेयर कारोबार नहुने समस्यालाई हटाउँदै आधा महिना मात्र सेयर खरिद बिक्री रोक्का हुने व्यवस्था गरेको हो । 

नेपाल धितोपत्र बोर्डले बोर्डमा सेयर दर्ता गराका र नगराएका कम्पनीहरू मर्जर तथा प्राप्तिमा गएको खण्डमा एकीकृत व्यवसायिक कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्ति गर्ने संस्था र गाभिने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचिकरण लगायतका कार्यका लागि उक्त अवधि सेयर किनबेच रोकिने व्यवस्था गरेको हो ।

बोर्डले तयार गरेको सङ्गठित संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को मस्यौदा अनुसार सम्बन्धित संस्थाहरुले आ–आफ्नो साधारण सभाबाट गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी कार्य अगाडि बढाउने प्रस्ताव पारित गरेको हुनुपर्ने उल्लेख छ ।

सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित गरेर उपयुक्त पार्टनर खोजी प्रारम्भिक सम्झौता गर्नुपर्नेछ । सो सम्झौतापछि धितोपत्र बोर्डको पुर्व स्वीकृति लिनु पर्ने छ । बोर्डबाट गाभ्ने गाभिने वा प्राप्तिका लागि स्वीकृति प्राप्त गरेका संगठित संस्थाले प्रचलित कम्पनी सम्बन्धी कानून बमोजिम एकीकृत व्यवसायिक कारोबारको स्वीकृति प्राप्त गरेपछि एकीकृत व्यवसायिक कारोबार गर्ने मितिको जानकारी बोर्ड, धितोपत्र बजार तथा केन्द्रीय निक्षेप कम्पनीलाई दिनु पर्ने व्यवस्था मस्यौदामा उल्लेख छ । 

बोर्डले तयार गरेको निर्देशिकाको मस्यौदा अनुसार सूचीकृत संगठित संस्था र सूचीकरण नभएको सङ्गठित संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति हुने भएमा नियमकारी निकायले तोकेको सेयर स्वामित्व अनुसार मिलाउनु पर्नेछ । संगठित संस्थाले एकीकृत व्यवसायिक कारोबार शुरु गरेको एक वर्षभित्र यस्तो अनुपात मिलाइसक्नु पर्ने प्रस्ताव मस्यौदामा गरिएको छ । 

बोर्डका अनुसार सङ्गठित संस्थाको गाभ्ने गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको छ महिना भित्र सम्पन्न गरि सक्नु पर्नेछ । अन्तिम स्वीकृतिका लागि तोकिएको ढाँचामा दिइएको निवेदन जाँचबुझपछि उपयुक्त देखिएमा बोर्डले एक आपसमा गाभ्न, गाभिन तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गर्ने व्यवस्था रहेको छ । 

सङ्गठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्झौता गर्नु पर्नेछ । सम्झौतामा गाभ्नेगाभिने तथा प्राप्ति गर्ने प्रक्रिया, लाग्ने समय र लागतको विवरण खुलाउनुपर्नेछ । त्यसैगरी मर्जर पछि कायम हुने संस्थाको नाम तथा ठेगान र सञ्चालक समितिको संरचना सँगै बसचालकको नामावली पनि समावेश गर्नुपर्नेछ । प्रमुख कार्यकारी अधिकृत सहित कर्मचारी व्यवस्थापन सम्बन्धी पनि सम्झौतामा उल्लेख हुनु पर्ने व्यवस्था मस्यौदामा रहेको छ । बोर्डले गाभ्ने गाभिने कार्य सम्पन्न भएपछिको संस्थाको नाम, प्रबन्धपत्र तथा नियमावली, पूँजी संरचना, सरोकारवालाको गुनासो व्यवस्थापन पद्धति र शेयर आदान प्रदान अनुपात उल्लेख गरेर सम्झौता गर्नुपर्ने हुन्छ । 

ड्यु डेलिजेन्स अडिट गरेपछि सङ्गठित संस्थाले सेयर आदान प्रदान अनुपात निर्धारण गर्नु पर्नेछ । निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात सम्बन्धित संस्थाहरूको सञ्चालक समितिबाट अनुमोदन गराई सार्वजनिक गर्नुपर्ने छ । सो सूचना तथा जानकारी सार्वजनिक हुनु अगावै सम्बन्धित पक्षले सेयर आदान प्रदान अनुपात सम्बन्धी सूचना तथा जानकारी चुहावट गर्न पाइने छैन ।

गठित समितिले स्वतन्त्र मूल्याङ्कनकर्ता गाभ्ने गाभिने वा प्राप्ति गर्ने तथा लक्षित सङ्गठित संस्थाको सम्पत्ति दायित्व तथा कारोबार मूल्याङ्कन सहितको ड्यु डेलिजेन्स अडिट गराउनु पर्नेछ । गाभ्ने गाभिने वा प्राप्तिमा संलग्न संस्थाहरूले गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी काम कारवाही अगाडि बढाउन एक संयुक्त समिति गठन गर्नु पर्नेछ । समितिमा गाभ्ने गाभिने वा प्राप्तिमा संलग्न प्रत्येक सङ्गठित संस्थाका सञ्चालकहरु मध्येबाट सर्वसाधारण शेयरधनी तर्फका एक जना सञ्चालक सहित बढीमा तीन जनासम्म सञ्चालक सदस्य तोक्नुपर्ने व्यवस्था मस्यौदामा उल्लेख छ । 

तर, मर्जरमा जाने कम्पनीहरुले प्रारम्भिक समझदारी गरेपछि धितोपत्र बजारले गाभ्ने गाभिने वा लक्षित सङ्गठित संस्थाका आधारभूत शेयरधनीको कारोबार साधारण सभा सम्पन्न नभएसम्म रोक्का राख्नुपर्नेछ । साधारणसभाले गाभ्ने गाभिने सम्बन्धी प्रस्ताव स्वीकृत नगर्दासम्मका लागि सेयर करारोबार रोक्का  रहने व्यवस्था मस्यौदामा रहेको छ । प्रारम्भिक समझदारी गरेपछि उक्त सङ्गठित संस्थाको साधारण सभाबाट गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रस्तावमा निर्णय नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति पक्रिया रद्द गर्न पाइने छैन । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।