रसुवागढी हाइड्रोले स्थानीयका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (साउन ३१ गते) अन्तिम दिन रहेको छ ।
उक्त आईपीओमा लगानीकर्ताले बिक्री प्रबन्धकसँगै सी–आस्वा सदस्य सेवा प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ । आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई १०० अंकित दरको ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गरेको थियो । यसअघि कम्पनीले साउन १० गते मंगलबार एक सूचना जारी गर्दै समय थपेको थियो ।
स्वदेशी पुँजी तथा प्राविधिकको सक्रियतामा पूर्वाधार संरचना निर्माण भई उपकरण जडान प्रक्रियामा अगाडि बढिसकेको रसुवागढी हाइड्रोपावर कम्पनीले रसुवाली नागरिकलाई ६८ लाख ४२ हजार १०० कित्ता सेयर छुट्याएको छ ।
आयोजना अति प्रभावित क्षेत्र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नम्बर १ थुमन र वडा नं २ टिमुरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङ गाउँपालिका वडा नम्बर ४ गोल्जुङ र वडा नम्बर ५ चिलिमेका साथै गोसाइकुण्ड गाउँपालिकाका बाँकी वडाहरू वडा नम्बर ३ बृद्धिम, ४ लाङटाङ, ५ स्याफ्रुबेशी र ६ धुन्चेका साथै सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीका लागि उक्त आईपीओ निष्कासन गरेको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ भने सह बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सन्राइज क्यापिटल रहेका छन् ।
सेयर भर्नका लागि करिब ४५ हजार नागरिक योग्य रहेको बताउँदै रसुवागढी हाइड्रोपावरले भनेको छ, कुनै पनि रसुवाली नागरिक सेयर भर्नबाट नछुटुन् र नदोहोरिउन् भन्ने अपेक्षा राख्दै सेयर खरिद कार्यमा सहभागी भइदिन कम्पनीले अनुरोध गरेको छ ।
जागिरमा कार्यरत रही सञ्चयकोषमा सञ्चयकर्ताको हिसाबले यसभन्दा अगाडि शेयर फाराम भरिसकेका रसुवाली नागरिकले दोहोरो हुनेगरी आवेदन पेश नगर्न अनुरोध गरिएको छ । दोहोरो भर्न नपाइने र भरेको पाइएमा रद्द हुनेसमेत रसुवागढी हाइड्रोले स्पष्ट पारेको छ । अनेत्र जिल्लाबाट विसं २०६८ साउन १७ गते अगाडि रसुवामा बसाइँ सरी आएका नागरिकको हकमा बसाइँसराइको प्रमाणपत्र अनिवार्य पेश गर्नुपर्ने प्रावधान राखिएको बताइएको छ ।
विसं २०६८ यताको हकमा भने बसाइँसराइको प्रमाणपत्रका साथै रसुवाको कुन स्थानमा आएर बसोबास गरेको हो त्यस स्थानमा घर हुनुपर्ने, घरमा विद्युत् मिटर जडान भएको कम्युटर बिल, बालबालिका विद्यालय भर्ना एवं पानी धाराको शुल्क बुझाएको बिलका साथै सम्बन्धित वडा कार्यालयले सेयर भर्नका लागि योग्य हो भनी गरिदिएको सिफारिसका आधारमा मात्र शेयर कित्ता स्वीकृत हुने उक्त हाइड्रोपावरले जनाएको छ ।
कति पर्यो आवेदन ?
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार कम्पनीको आईपीओ खरिदका लागि सोमबार साँझ ५ बजेसम्म आयोजना प्रभावित तीनवटै समुहबाट गरी कुल ३९ हजार ६३५ वटा आवेदन मार्फत ७३ करोड ७३ लाख ११ हजार रुपेयाँ मुल्यको ७३ लाख ७२ हजार ११० कित्ता सेयर माग परेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया