
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरलाई ‘इक्रा एनपी आईआर त्रिपल बी माइनस रेटिङ’ प्रदान गरेको छ ।
इक्राका अनुसार त्रिपल बी माइनस रेटिङ प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको इक्रा नेपालले जानाएको छ ।
उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको र कुनै खास ऋणपत्र विशेषको राय नभएको इक्राले उल्लेख गरेको छ ।
हाइड्रोपावर कम्पनीले २ अर्ब ७९ करोड रुपैयाँ दीर्घकालीन ऋण तथा १० करोड रुपैयाँ बराबरको अल्पकालीन ऋण (चालु पुँजी कर्जा) का लागि रेटिङ्ग गराएको हो । दीर्घकालीन ऋणका लागि इक्राले ‘इक्रा एनपी एल त्रिपल बी माइनस रेटिङ’ र अल्पकालीन ऋणका लागि ‘इक्रा एनपी ए थ्री रेटिङ’ प्रदान गरेको छ ।
सन् अप्रिल १५, २०१२ मा स्थापना भएको मान्डु हाइड्रोपावर लिमिटेडको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । वाग्मती प्रदेशको मकवानपुर जिल्लामा २२ मेगावाटको बागमती खोला साना जलविद्युत निर्माण भई अप्रिल २, २०१९ देखि आयोजना सञ्चालनमा आएको छ ।
कम्पनीको प्रमुख प्रवद्र्धकहरूमा चिनियाँ कम्पनी सिचुआन हेचुआन इन्भेस्टमेन्ट कम्पनी लिमिटेड (४९ प्रतिशत), महेश्वर प्रकाश श्रेष्ठको (११ प्रतिशत), हिमालयन इन्फ्रास्ट्रक्चर लिमिटेड (९ प्रतिशत), रिजन श्रेष्ठ (६ प्रतिशत), विनोद कुमार श्रेष्ठ (५प्रतिशत), पृथ्वीबहादुर पाण्डे (४ प्रतिशत), लोटस इन्भेष्टमेन्ट प्रालि (४ प्रतिशत), सुश्री प्रतिमा पाण्डे (२ प्रतिशत), शिवनाथ बहादुर पाण्डे (२ प्रतिशत) र सुश्री सोफिया पाण्डे (२ प्रतिशत) लगानी रहेको छ । प्रतिमेगावाट लागत १८ करोड १० लाख रहेको आयोजनाको अनुमानित लागत ३ अर्ब ९९ करोड रहेको छ । हालसम्म परियोजनाको ८८ प्रतिशत ऋण तिर्न बाँकी छ ।
कम्पनीले उत्पादन गरेको बिजुली १४ किलोमिटर लामो ६६ केभी प्रसारण लाइनमार्फत मार्फत नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको मकवानपुर जिल्लाको कुलेखानी सबस्टेसनसम्म जोडिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया