धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर आइतबार मध्यम रेञ्जमा कारोबार खुला भएको छ ।
आइतबारको स्पेशल प्रि–ओपनिङ्ग सेसनमा लघुवित्तको १० कित्ता सेयर प्रतिकित्ता १७९ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो । कम्पनीको सेयरको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १४८ रुपैयाँ ६६ पैसादेखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज दिएको थियो ।
नेप्सेले दिएको न्यूनतम कारोबार रेञ्जभन्दा ३१ रुपैयाँ माथि कम्पनीको सेयर कारोबार भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । आइतबारको स्पेसल पी ओपन सेसनमा कारोबार भएपछि सोही मूल्यलाई आधार मानेर कम्पनीको सेयर नियमित कारोबार सुरु भएको छ ।
कम्पनीको सेयर डिएलबीएस संकेतमा दोस्रो बजारमा कारोबार खुला भएको हो । दोस्रो बजारमा कारोबारका लागि कम्पनीले गत बिहीबार ३ लाख ३१ हजार कित्ता सेयर सर्वासधारण सेयर र ७ लाख कित्ता संस्थापक गरी कुल १० लाख ३१ हजार कित्ता नेप्सेमा सूचीकृत भएको थियो ।

धौलागिरीले साउन २४ गतेदेखि २९ गतेसम्म जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशतले हुन आउने ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको थियो । जसमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित राखी ३ लाख ८ हजार २९५ कित्ता भदौ ८ गते बुधबार सर्वसाधारणमा बाँडफाँड गरिएको थियो । गोलाप्रथा मार्फत भएको सेयर बाँडफाँटमा ३० हजार ९२९ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका थिए । सोमध्ये भाग्यमानी ५ जनाले थप १ कित्ता अर्थात ११ कित्ताका दरले प्राप्त गरेका थिए ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ । यससँगै अब लघुवित्तका सेयरधनीले लघुवित्तको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्न सनराइज क्यापिटल मार्फत पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया