नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षको लघुवित्त नै नोक्सानीमा

0
Shares

नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्ष प्रकाशराज शर्मा प्रमुख कार्यकारी अधिकृत रहेको लघुवित्त नै नोक्सानीमा पुगेको छ । खराब कर्जाको नोक्सानी व्यवस्था वापतको रकम बढेपछि लघुवित्तले नोक्सानी ब्यहोरेको हो ।

शर्मा सीईओ रहेको लक्ष्मी लघुवित्त चालु आर्थिक वर्ष २०७९–८० को पहिलो त्रैमासमा ४१ लाख १४ हजार नोक्सानमा रहँदा अन्य धेरै सूचक पनि लगानीकर्तालाई हतोत्साहित बनाउने खालका देखिएका छन् ।

लक्ष्मी लघुवित्तले गत आवको सोही अवधिमा भने ४ करोड ६६ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको सेयरधनी कोष, निक्षेप संकलन, कर्जा लगानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफा सबै घटेको छ । लागत करिब साढे ३ प्रतिशतले वृद्धि भएको लघुवित्तको सेयरधनी कोष २८ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको निष्कृय कर्जा अनुपात ३.७९ बाट बढेर बढेर ४.४४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थामा कडाई गरेपछि संस्थाले ४ करोड ४५ लाख रुपैयाँ इम्पेरिमेन्ट चार्ज छुट्याएको छ । जुन गत आवको पहिलो त्रैमासको तुलनामा ११७.८५ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा संस्थाले २ करोड ४ लाख छुट्याएको थियो ।

असोज मसान्तसम्म संस्थाले २ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ निक्षेप र ४ अर्ब ४३ करोड २५ लाख रुपैयाँ सापटी लिएर ७ अर्ब ४३ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी पनि २०.१५ प्रतिशतले घटेर १० करोड ८२ लाख ६७ हजार रुपैयाँमा घटेको छ । असोज मसान्तसम्म कम्पनीको सञ्चालन नाफा ४१ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत आवको सोही अवधिमा ६ करोड ६६ लाख ९७ हजार रुपैयाँ रहेको थियो ।

चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको लक्ष्मी लघुवित्तको प्रतिसेयर आम्दानी ४.२८ रुपैयाँ ऋणात्मक रहेको छ । जगेडा कोषमा २२ करोड ४५ लाख ५७ हजार रुपैयाँ सञ्चित रहँदा संस्थाको प्रतिसेयर नेटवर्थ २१४.५१ रुपैयाँ र कष्ट अफ फन्ड १०.५७ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलबार  १५ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।