शून्य लागतमा कोरियामा मौसमी कामदार आफैँ पठाउने सरकारको तयारी


नेपाल सरकारले कोरियाका लागि मौसमी कामदारका रुपमा नेपाली कामदारलाई आफैँले पठाउने तयारी गरेको छ । कोरिया सरकारले आगामी दिनमा छोटो अवधिको लागि मौसमी कामदारको माग गर्ने नीति ल्याउने भए पछि नेपाल सरकारले पनि सोही अनुसारको तयारी गरेको हो ।

मौसमी कामदार कोरिया पठाउनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएको छ । कार्यविधि कानुन मन्त्रालयमा पठाईएको मन्त्रालयले जनाएको छ । कानुन मन्त्रालयको राय पछि कार्यविधिमा थप शंसोधन गरी प्रक्रिया अगाडी बढाईने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाली कामदारलाई शुन्य लागतमा कोरियामा मौसमी कामदारको रुपमा पठाउने तयारी गरेको हो । यसका लागि कोरियाली सरकारसँग छलफल हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय बेलायत, पोर्चुगल, अष्ट्रिया र कोरिया लगायतका मुलुकमा नेपाली युवाहरु मौसमी कामदारको रुपमा जान थालेका छन् । तर, गन्तब्य मुलुकसँग नेपाल सरकारले श्रम सम्झौता नगरेकै कारण कामदारहरु जोखिममा पर्न थालेका छन् ।

हाल नेपाल सरकारले ईपिएस प्रणाली मार्फत नेपाली कामदारलाई कोरिया पठाउँदै आएको छ । ईपिएस प्रणाली बाहेक मौसमी कामदार पनि नेपाली कामदारको लागि उपयुक्त हुने भन्दै सरकारले कार्यविधि निर्माणको प्रक्रिया अगाडी बढाएको हो ।

मौसमी कामदारको रुपमा जाने कामदारको भिसा अवधि अधिकतम ६ महिनाको हुनेछ । सो अवधि पछि कामदार मुलुक फर्कनु पर्नेछ । तर, रोजगारदाताको अनुमतिमा कामदार पुनः जाने सक्ने व्यवस्था गरिने भएको छ ।

नेपाली कामदारले श्रम ऐन बमोजिमको पारिश्रमिक र सुविधाको सुनिश्चिता हुनुपर्ने नेपाल सरकारको अडान छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।