चितवनका दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

0
Shares

कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आउनुभएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो ।

घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उनले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भने ”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउँछिन् । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन”, उनले भनिन् ।

इच्छाकामना गाउँपालिका–१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ्ज्याङ, थाप्राङ, राजभोग, ज्यान्दला, जौतेस, कालिन र तिपाङमा मोबाइलको नेटवर्क टिप्दैन । यस्तै हात्तीबाङको पनि केही क्षेत्रमा नेटवर्कको समस्या रहेको वडाध्यक्ष सन्तबहादुर मगरले बताए ।

“मेरो वडाको एक दर्जन गाउँमा फोन सेवा छैन, उहाँले भन्नुभयो”, “भएको ठाँउमा पनि नेटर्वक समस्याले राम्रोसँग कुरा गर्न पाइँदैन ।” उनले वडाको झण्डै तीन हजार जनसङ्ख्या सञ्चार सेवा फोनबाट वञ्चित रहेको बताए । सो वडामा अधिकांश चेपाङ समुदायको बसोबास रहेको छ ।

नेटवर्कको समस्या सामाधान गरिदिन नेपाल टेलिकम र एनसेललाई पटक–पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरे । “यसै त भौगोलिकरुपमा पछि परेको ठाँउ हो हाम्रो, वडाध्यक्ष मगरले भने”, “विकास र प्रविधिको जमानमा पनि हामी फोन गर्न पाउँदैनौँ ।”

इच्छाकामना–१ चौकीडाँडाकी सरस्वती रायमाझीले फोन गर्न आफ्नो गाँउबाट कालिका नगरपालिकातर्फ फर्कनुपर्ने बताइन् । उनले नेटवर्क कमजोर हुँदा फोन पटक–पटक काटिने गरेको गुनासो गर्रिन् । उनले नेट इन्टरनेट त टाढाको कुरा भएको भन्दै सहज रुपमा फोन गर्न पाए पनि खुसी हुने बताइन् । “अकस्मात् केही भइहाल्यो भने सूचना पाउन र पु¥याउन पाइँदैन, उनले भनिन्, “लामो समयसम्म आफन्तसँग सम्पर्क विच्छेद हुने गरेको छ ।”

आधारभूत विद्यालय भाराङका प्राचार्य दीपबहादुर गुरुङले गाउँमा मोबाइलको नेटवर्क नहुँदा धेरै दुःख पाएको बताए । उनले भने, “मोबाइलको टावर जडानका लागि पटक–पटक आश्वासन दिइयो तर कार्यान्वयन गरिएन ।” उनले गाँउबाट चार सय बढीको हस्ताक्षर सङ्कलन गरेर समेत टेलिकममा बुझाइएको बताए । नेटवर्कको समस्याका कारण स्कूलमा वाइफाइ जडान गर्न सकिएको छैन । “गाउँपालिकाले वाइफाइ जडानका लागि दिएको रकमसमेत फिर्ता गर्नुप¥यो”, उनले गुनासो गरे ।

दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख नवीनकुमार मिश्रले इच्छाकामना गाँउपालिका–१ मा भएको नेटवर्कको समस्याबारे केन्द्रीय कार्यालयमा जानकारी गराइसकेको बताए । उनले कार्यालयले पनि नेटवर्क नभएको ठाँउमा सर्वेका लागि कर्मचारी पठाउने भन्दै त्यस ठाँउलाई प्राथमिकता राखेर काम गरिने जानकारी दिए। उनले अहिले भएका टावरबाट नेटवर्क मिलाउन सक्ने जति मिलाइने र बाँकी टावर निर्माण गरेर समस्या समाधान गरिने बताए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाको वडा नम्बर १, २ र ७ नम्बर वडाका विभिन्न क्षेत्रमा मोबाइल नेटवर्कको समस्या रहेको बताए । उनले वडा नम्बर २ को हुस्ती, माझखर्क, होरल्याङमा र तल्लो काउलेमा नेटवर्कको समस्या रहेको जानकारी दिए । यस्तै वडा नम्वर ७ को गर्दास, सुन्दरबस्ती पनि राम्रोसँग नेटवर्क नटिप्ने समस्या रहेको बताए ।

पालिकाभित्र रहेको नेटवर्कको समस्या समाधानका लागि दूरसञ्चार कार्यालय र एनसेललाई जानकारी गराएको भन्दै उनले नेटवर्कको समस्या छिट्टै समाधान गरिने बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७९, बिहिबार  ११ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।