घलेम्दी हाईड्रोले गर्‍यो २०० प्रतिशत हकप्रद जारी गर्ने निर्णय

0
Shares

घलेम्दी हाईड्रो लिमिटेडले चुक्ता पुँजीको २०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीले सांग्रिला उर्जा प्रालिद्वारा प्रवद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयोजनामा ५१ प्रतिशत सेयर लगानी गर्न हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिमा छलफल गर्दा कम्पनीको कम्तिमा ५१ प्रतिशत सेयर कायम हुने गरि लगानी गर्न १ः२ अनुपातमा हकप्रद जारी गर्ने निर्णय भएको कम्पनीले जनाएकाे छ ।

उक्त हकप्रद सेयर निष्कासनको प्रस्ताव अनुमतिको लागि कम्पनीले तोके बमोजिमका कागजातहरुका साथ विद्युत नियमन आयोग समक्ष दरखास्त निवेदन पेश गर्ने निर्णय गरेको छ । सो हकप्रद विद्युत नियमन आयोगले स्वीकृति दिएमा मात्र निष्कासन हुनेछ । 

विद्युत नियमन आयोगबाट कम्पनीले हकप्रदको अनुमति प्राप्त भए आगामी साधारण सभाबाट अनुमोदन गराउने निर्णय समेत गरेको छ ।

विद्युत नियमन आयोग र साधारण सभाबाट पारित भएको खण्डमा मात्रै कम्पनी हकप्रद निष्कासनको लागि पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुग्नेछ ।

बोर्डबाट आवश्यक कागजात अध्ययन गरी अनुमति दिएपछि मात्रै कम्पनीको हकप्रद निष्कासनको चरण पूरा हुनेछ । हाल कम्पनीको सञ्चालक समितिले निर्णय मात्रै गरेकाले कम्पनीले हकप्रद जारी गर्नका लागि नियामक निकायहरुबाट स्वीकृति पाउन अनिवार्य हुन्छ ।

घलेम्दी हाईड्रो लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ स्थित घलेम्दी खोलामा ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजना सफलतापूर्वक सम्पन्न गरी विद्युत उत्पादन गर्दै आएको छ । यस्तै प्रकारका आयोजनामा लगानी गरि कम्पनीलाई निरन्तर क्रियासिल गराउने विषयमा अन्य आयोजनाको खोजिकार्य भैरहँदा छुजुङ्ग खोला जलविद्युत आयोजनामा बहुमत स्वामित्व लगानी गर्ने निर्णयमा कम्पनी पुगेको हो । उक्त आयोजना अध्ययन गर्दा लगानीका हिसाबले अत्यन्तै लाभदायक देखिएको कम्पनीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ पुस २०७९, सोमबार  १३ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।