हालसम्मकै ठूलो रकमको पुरस्कार सहित २ वटा रियालिटी शो घोषणा


नेपालमा दुई वटा अन्तर्राष्ट्रिय रियालिटी शो सञ्चालन गर्ने घोषणा भएको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गायन र नृत्यमा हालसम्मकै ठूलो राशीको पुरस्कार भएको २ शो सञ्चालन गर्ने घोषणा गरिएको हो ।

गायनतर्फ ‘मेरो भ्वाइस युनिभर्स’ र नृत्यतर्फ ‘मेरो डान्स युनिभर्स’ को घोषणा गरिएको हो ।

इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले आयोजना गर्ने रियालिटी शोमा विश्वभर छरिएर रहेका १६ वर्षमाथिका नेपाली भाषीहरूले सहभागिता जनाउन पाउने छन् ।

‘मेरो भ्वाइस युनिभर्स’ का विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन् भने फस्र्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पाउने छन् । उता ‘मेरो डान्स युनिभर्स’ का विजेताले पनि १ करोड रूपैयाँ पुरस्कार पाउने छन् भने फस्र्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् । यो पुरस्कार राशी नेपालमै अहिलेसम्मकै ठूलो भएको आयोजकका दाबी छ ।

शिव परियार, अन्जु पन्त, पुष्पन प्रधान, सुजता वर्मा, सुरेश अधिकारी र सुनिता थेगिम निर्णायक रहने गायन शो रिमा विश्वकर्मा र प्रजीत रानाले सञ्चालन गर्नेछन् । दीलिप रायमाझी, प्रियंका कार्की, शंकर विसी, केकी अधिकारी, निर्माण राई र मिथिला शर्मा निर्णायक रहने नृत्य शो भने नरेश भट्टराई र सुनिता गुरुङले सञ्चालन गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

“हामीले धेरै सांस्कृतिक कार्यक्रम गरेका छौं । मनोरञ्जनको माध्यमबाट विश्वभर छरिएर रहेका नेपाली भाषीहरूलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सधैं नै सजग गराउने उद्देश्यले शोहरु सञ्चालन गर्न लागिएको हो ।” फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले भने ।

यो प्रतिषयोगितामा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्ने छन् । मंगलबारदेखि नै फारम भर्न सक्ने आयोजकले जनाएको छ ।

जनवरी १ देखि भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिने अधिकारीले बताए । उनका अनुसार नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलबाट अडिसन हुनेछ भने म्यानमार, थाइन्ण्डड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत अन्य युरोपियन मुलुकमा पनि प्रतिस्पर्धीको संख्याका आधारमा अडिसन गरिनेछ ।

एलिन श्रेष्ठको निर्देशनमा सञ्चालन हुने शोहरु प्रशारण हुने टेलिभिजन च्यानलबारे टुंगो लागिसकेको छैन ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।