राष्ट्र बैंकको आरटीजीएसबाट हुने आम्दानी ५९ प्रतिशतले बढ्यो


नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)बाट हुने आम्दानी ५८ प्रतिशतले बढेको छ । आरटीजीएस कारोबार बढेपछि केन्द्रीय बैंकलाई हुने अम्दानी पनि बढेको हो ।

आर्थिक वर्ष २०७८/७९ को अवधिमा आरटीजीएस प्रणाली मार्फत ४२० खर्व ४ अर्ब ५५ करोड रुपैयाँ बराबर कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ । आर्थिक वर्ष २०७७/७८ मा २०४ खर्ब ४६ अर्ब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

केन्द्रीय बैंकले गत आर्थिक वर्षमा आरटीजीएस कारोबार मार्फत एक करोड ५९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा बैंकको यस्तो आम्दानी एक करोड रुपैयाँ मात्र थियो ।
गत आवमा आरटीजीएस प्रणाली मार्फत ७ लाख ३१ हजार ९ सय ८४ वटा कारोबार भएका छन । यो कारोबार संख्या अघिल्लो आवको तुलनामा धेरै हो । अघिल्लो आवमा आरटीजीएस मार्फत ५ लाख ५५ हजार ८ सय ४६ वटा करोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकले ठुलो रकमको कारोबार राफसाफ तत्काल गर्नका लागि आरटीजीए प्रणालीको सुरुवात गरेको हो । यसमा न्यूनतम २ लाख सम्मको मात्र कारोबार राफसाफ हुन्छ । यसका लागि बैंकहरुले ग्राहकबाट कारोबार समय अनुसार १० रुपैयाँ देखि एक सय रुपैयाँसम्म कारोबार शुल्क लिन सक्छन् ।

राष्ट्र बैंकले २०७६ भदौ २९ गतेदेखि औपचारीक रुपमा सुरुवात गरेको आरटीजीएस प्रणाली मार्फत बैंकिङ्ग क्षेत्रका ठूला खाले कारोबारलाई तत्कालै भुक्तानी लिन र दिन (सेटलमेन्ट) सकिन्छ । आरटीजीएसमा २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने र तत्कालै एक बैंकको खाताबाट अर्को फरक बैंकको खातामा पैसा भुक्तानी लिने र दिने काम हुँदै आएको छ ।

हाल आरटीजीएस दुई सत्रमा सञ्चालन हुदै आएको छ । सञ्चालनको समय आइतबारदेखि विहीबारसम्म विहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म र शुक्रबार बिहान ८ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कायम गरिएको छ । यस प्रणालीमा हालसम्म २६ वािण्ज्य बैंक, १२ विकास बैंक र ११ फाइनान्स गरी कुल ४९ संस्था आवद्ध छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।