अटोमोवाइल क्षेत्रका समस्या समाधानमा पहल गर्ने अर्थमन्त्री पौडेलको आश्वासन


अर्थ मन्त्री विष्णु पौडेलले अटोमोवाइल क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । शुक्रबार नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा उनले यस्तो बताएका हुन् । मन्त्री पौडेलसँगको भेटका क्रममा व्यवसायीले पछिल्लो समय देखिएका समस्याका बारेमा जानकारी गराएका थिए ।

मन्त्री पौडेलले अटोमोवाइल क्षेत्रलाई नजिकबाट चिनेको प्रतिकृया दिँदै व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका थिए । सरकारले समस्या समाधानमा पहल गर्ने आश्वासन दिँदै मन्त्री पौडेलले अटो व्यवसायीले गरिरहेको आन्दोलन तथा बिरोध कार्यक्रम स्थगन गर्न आग्रह समेत गरेका थिए ।

छलफलमा नाडा अध्यक्ष थापाले कोभिड महामारीको कारण व्यवसायमा उत्पन्न अफ्टेराहरुमा पनि व्यवसाय सञ्चालन गरिरहेकोमा पछिल्लो समयमा अघि सारिएका नीतिगत व्यवस्थाले समस्या भएको बताएका थिए । व्यवसायीहरु आफ्नो ब्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन थापाले मन्त्री पौडेलसँग आग्रह गरेका थिए ।

सोही क्रममा अध्यक्ष थापाले बढदो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि प्रतितपत्र खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने व्यवस्थाका लागि आग्रह गरेका थिए ।

अटो लोन तथा हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा लोन टू भ्यालु रेशियोको हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गराइदिन पनि नाडा अध्यक्ष थापाले आग्रह गरेका थिए ।

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने भन्दै नाडाले उक्त व्यवस्थालाई २ वर्षसम्मका लागि स्थगित गर्न आग्रह गरेका थिए ।

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।