गण्डकी प्रदेशले माग्यो मेडिकल अधिकृत लगायत विभिन्न पदमा कर्मचारी, कहाँबाट दिने आवेदन ?

नोटबजार संवाददाता
काठमाण्डौं ।
१०आश्विन, २०८०, बुधबार / Sep 27, 2023 08:51:am

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । आयोगले मेडिकल अधिकृत लगायत विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौँ र आठौँ तहका पदहरुमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने तयारी गरेको छ । इच्छुक उम्मेदवारले असोज ३० भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने कात्तिक ७ गतेसम्म आवेदन दिन सक्ने छन् ।तोकिएको मापदण्ड पुगेका उम्मेद्वारले आयोगको अनलाइन दरखास्त प्रणाली http://onlineppsc.gandaki.gov.np बाट आवेदन दिन सक्ने छन् ।

असोज ३० सम्म २१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने जनाइएको छ ।

उक्त स्थानीय सेवाका खुला प्रतिस्पर्धाद्वारा पूर्ति हुने पदहरूमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनअनुसार २०६३ सालभन्दा अगाडिदेखि साबिक स्थानीय निकायको दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति भई निरन्तर रूपमा कार्यरत रहेका कर्मचारीको हकमा पनि उमेर हद नलाग्ने जनाइएको छ ।

दरखास्त दस्तुर १ हजार २०० रुपैयाँ लाग्ने छ । अन्तर तह र समावेशी समुह तर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेद्वारले थप समूहका प्रत्येकका लागि थप ४०० रुपैयाँका दरले परिक्षा दस्तुर बुझाउनु पर्नेछ ।

📣  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।


Share on:


Comments