भूकम्प प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासङ्घको अपिल

0
Shares

नेपाल उद्योग वाणिज्य महासङ्घले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ ।

महासङ्घले प्रभावित जनतालाई आर्थिक लगायत लत्ताकपडा, खाद्यान्न, औषधि, पानीलगायत अत्यावश्यक सामग्री सहयोग गर्न सबै सदस्य सङ्घसंस्था, उद्योग प्रतिष्ठान, उद्यमी व्यवसायीमा अपिल गरेको हो ।

गएराति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति महासङ्घले दुःख व्यक्त गरेको छ । महासङ्घले भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

महासङ्घले सबै सदस्य उद्योग वाणिज्य सङ्घहरू, उद्यमी व्यवसायी र व्यावसायिक सङ्घसंस्थालाई उद्धार र राहतमा सहयोग गर्न आह्वान गरेको छ । भूकम्प प्रभावित जनताको सहयोगका लागि महासङ्घले आफ्नातर्फबाट पहल गरिसकेको छ भने राहत र उद्धार कार्यलाई तीव्रताका साथ अगाडि बढाउन सरकारसमक्ष अनुरोध गरेको छ ।

सहयोग गर्न चाहनेहरूका लागि महासङ्घको स्वास्थ्य तथा विपत् व्यवस्थापन समितिका सभापतिको नेतृत्वमा एक समितिसमेत गठन गरिएको छ ।

आधिकारिकता निश्चित गरेर मात्रै सहयोग गर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले भूकम्प प्रभावितको नाममा अवाञ्छित गतिविधि र ठगी हुनसक्ने भएकाले निश्चित गरेर मात्रै सहयोग गर्न आज आम नागरिकमा अनुरोध गरेको छ ।

भूकम्प पीडितहरूलाई इन्टरनेट वा अन्य माध्यमबाट आर्थिक वा अन्य सहयोग गर्दा सहयोग माग्ने व्यक्ति वा सङ्घसंस्था आधिकारिक हो वा होइन निश्चित गरेर मात्र सहयोग गर्न अनुरोध गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

प्रवक्ता कडायतका अनुसार विगतमा यसरी सहयोगका नाममा ठगिएका र वास्तविक प्रभावितहरूले राहत नपाएका जानकारी आएको भन्दै त्यसतर्फ सचेत हुन भनिएको हो । प्रहरीले आज सार्वजनिक सूचना नै जारी गरेर सबैमा उक्त अनुरोध गरेको हो ।

विभिन्न सरकारी निकाय तथा सङ्घसंस्थाले भूकम्प प्रभावित क्षेत्रमा सहयोगको घोषणा गरेका छन् । जाजरकोट केन्द्रविन्दु भएर आज गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पमा परी अहिलेसम्म एक सय ५७ जनाको मृत्यु भइसकेको छ । झण्डै दुई सय जना घाइते भएका छन् । खोज र उद्धार कार्य अहिले पनि जारी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ कात्तिक २०८०, शनिबार  १९ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।