नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ । प्राधिकरणले विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताए । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता बढ्दै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरुले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन् ।
विद्युत महसुल संकलन विनियमावली २०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थपदस्तुर लाग्ने प्रावधान छ । मिटर रिडिङ भएको मितिले ४०औं दिनसम्म पनि विद्युत् महसुल नबुझाउने उपभोक्तालाई ४१औं दिनदेखि बिलको २५ प्रतिशतका दरले थपदस्तुर लाग्ने व्यवस्था छ ।
यसरी २५ प्रतिशतका दरले थपदस्तुर लागेको ६०औं दिनसम्म पनि बक्यौता महसुल नबुझाए लाइन काट्ने व्यवस्था छ । लाइन काटेको ६ महिनासम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
विनियमावलीको यही प्रावधानका आधारमा मिटर रिडिङ भएको मितिले ६०औं दिनसम्म पनि बक्यौता विद्युत् महसुल भुक्तान नगर्ने उपभोक्ताहरुको चरणबद्ध रुपमा विद्युत् लाइन काटेर बक्यौता महसुल असुल गर्ने रणनीति लिइएको प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जनाए । उनले तिहारपछि लाइन काट्ने कामलाई अझै तीव्र रुपले अगाडि बढाइने भएकाले समयमै महसुल तिरी सजक र जिम्मेवार बन्न ग्राहकलाई आग्रह गरेका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया