हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले पहिलो चरणमा मंसिर ४ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको थियो ।

उक्त आइपीओमा आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिने छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर निष्काशन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ३० लाख कित्ताका लागि आवेदन दिन सक्ने छन् । कम्पनीको आईपीओमा २८ हजार ४७९ वटा आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार मंङ्सिर १७ गते आइतबार साँझ ५ः०७ बजेसम्ममा ३४ लाख ८२ हजार ९०० कित्ता सेयरका लागि ७१ करोड ७४ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको माग परेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्राणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १८ मंसिर २०८०, सोमबार  ०६ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।