चौधौं चितवन महोत्सव पुष २५ देखि, अर्थतन्त्र चलायमान बनाउन सघाउने अपेक्षा


अर्थतन्त्र सिथिल बनिरहेका बेला चलायमान बनाउन सघाउने उद्धेश्य सहित चितवन महोत्सव आयोजना हुने भएको छ । १४ औं संस्करणको महोत्सव पुस २५ देखि ४ गतेसम्म आयोजना हुन लागेको राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।

महोत्सव आयोजन मूल समितिले नेपाल उद्योग वाणिज्य महासंघको सभाहलमा पत्रकार सम्मेलन गर्दै विभिन्न ३० वटा कार्यगत समिति गठन गरेर महोत्सवको तयारी गरिरहेको जनाएको हो ।

उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणगढको नारायणी नदी किनारमा महोत्सव हुन लागेको हो । चितवन जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य पर्यटन लगायत समग्र आर्थिक सामाजिक र सांस्कृतिक विकासका साथै व्यवसायको प्रबद्र्धनमा टेवा पुयाउने लक्ष्य महोत्सवको छ । चितवनको गरिमा र पहिचानलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले बताए ।

संघले २०५३ साल देखि २ वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सवमा यस पटक ४५० वटा स्टलहरू रहने आयोजकले जनाएको छ । महोत्सवका क्रममा पुस २८ देखि माघ २ गतेसम्म क्याम्पाचौरमा फुड फेष्टिबल पनि सञ्चालन गरिने बताइएको छ । त्यसैगरी पुस २९ देखि माघ ३ गतेसम्म चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत जिल्लको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित सेमिनार तथा गोष्ठी पनि आयोजना हुनेछन् ।

महोत्सवमा कलात्मक प्रवेशद्वार राखिनुका साथसाथै महोत्सव परिसरमा कलात्मक आकृतिहरु निर्माण गरिने चितवन उद्योग वाणिज्य संघले जनाएको छ । बाह्य सुरक्षाका लागि स्थानिय प्रशासनसँग समन्वय गर्दै आन्तरिक सुरक्षाका लागि सुरक्षागार्डको उचित व्यवस्था गरिएको र महोत्सव परिसर २४ सै घण्टा सिसिटिभिको निगरानीमा रहने बताइएको छ ।

प्रदर्शक तथा अवलोकनकर्ताको सुविधाको लागि महोत्सव परिसरमा फ्री वाईफाईको ब्यवस्था गरिएको समेत संघले जनाएको छ । यस बर्ष नव उद्यमीहरुको पहिचान गर्ने उद्देश्यले स्टार्ट अपलाई जोड दिँदै महोत्सव अवधिभर उद्यम गर्न चाहने युवाहरुको तथ्यांक संकलन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ । उक्त तथ्यांक संकलन पश्चात संघमा स्थापना गरिएको रोजगारत तथा ब्यवसाय सूचना केन्द्र मार्फत रोजगारिका लागि पहल गर्नेका साथसाथै आवश्यक सिप तथा तालिम संचालन गर्ने योजना रहेको पनि आयोजकले जनाएको छ ।

महोत्सवमा ५ लाख अवलोकनकर्ता पुग्ने र २५ करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । आयोजकले महोत्सव अवलोकनको लागि ६० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ प्रवेशशुल्क तोकेको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।