‘उद्योगमा प्राधिकरणले अघोषित लोडसेडिङ गर्यो’- उद्योगी, प्राधिकरण भन्छ – ‘केही दिनमा नियमित हुन्छ’


नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत आपुर्तीमा कटौती गरेको भन्दै व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । उद्योग सञ्चालनमा सहजता आईरहेका बेला विद्युत कटौती हुन थालेको भन्दै उनीहरुले अघोषित रुपमा लोडसेडिङ सुरु भएको आरोप लगाएका हुन् ।

औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टासम्म लोडसेडिङ हुन थालेको उद्योगी व्यवसायीको आरोप छ ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले प्राधिकरणको लोड व्यवस्थापनमा निजी क्षेत्रलाई मारमा पारिएको बताएका छन् । अर्थतन्त्र समस्यामा हुँदा पनि निजी क्षेत्रले सहनु परेको बताएका उनले उर्जा व्यवस्थापनमा पनि निजी क्षेत्रमा अघोषित लोडसेडिङ गराइएको आरोप लगाएका हुन् ।

महासंघका अर्का उपाध्यक्ष दिनेश श्रेष्ठले प्राधिकरणको आन्तरिक समस्याको मार निजी क्षेत्रमा परेको बताए । उद्योग कलकारखाना निर्वाध रुपमा चल्ने अवस्था बनाउनुपर्नेमा ९ घण्टासम्म अघोषित लोडसेडिङ हुँदा समस्या भएको उनले बताए ।

महासंघका पुर्व अध्यक्ष पशुपति मुरारकाले बजारमा सुधार देखिन सुरु भएको अवस्थामा विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ९ घण्टा लोडशेडिङ सुरू गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उद्योग कलकारखानामा विद्युत कटौती हुँदा औद्योगिक क्षेत्र कसरी उँभो लाग्ने ? भनेर उनले प्रश्न गरेका छन् ।

यता नेपाल विद्युत प्राधिकरणले भने साना तथा मझौला उद्योगमा विद्युत आपुर्ती नियमित भएको बताएको छ । नोटबजारसँको कुराकानीमा प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले डिष्ट्रीव्युसन फिडरमा जोडिएका ठुला उद्योगहरुमा मात्र विद्युत आपुर्ती कटौती गरिएको बताए ।

“हामीले अहिले भारतको बिहारबाट आयात गरिरहेको विद्युत बिहारकै जेनेरशन स्टेशनमा आएको समस्याका कारण केही दिनदेखि आयात हुन सकिरहेको छैन,” भट्टराईले भने, “उता मर्मतको काम भईरहेकाले हामीलाई विद्युत दिन नसक्ने भनेका कारण ठुला उद्योगमा ९ घण्टासम्म विद्युत कटौती भएको हो ।”

भट्टराईका अनुसार बिहारतर्फको मर्मत सम्भार पुरा भएर विद्युत आयात हुन थालेपछि उद्योगमा विद्युत आपुर्ती नियमित हुनेछ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।