“९० प्रतिशत हिस्सा ओगटेको साना तथा मझौला व्यवसायका समस्या समाधानमा पहल भएन”


देशको कुल व्यवसायको झन्डै ९० प्रतिशत हिस्सा साना तथा मझौला उद्योगले ओगटे पनि सरकारले यस क्षेत्रका समस्याहरू समाधान गर्न नसकेको गुनासो व्यवसायीहरुले गरेका छन् ।

आइतबार आयोजित साना तथा मझौला व्यवसायी महासंघको बैठकमा बोल्दै महासंघका अध्यक्ष दीपकप्रसाद आचार्यले यस क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै सबै उद्यमी व्यवसायी एकजुट भएर अगाडि बढ्नुपरेको बताए । बर्षौंदेखि साना तथा मझौला व्यवसाय गर्दै आएका व्यवसायीहरू धेरै किसिमको झमेलामा परेको गुनासो गर्दै उनले मुलुकको जनशक्तिलाई कृषि क्षेत्रले मात्र ग्रहण गर्न नसक्ने हुँदा स्थानीय स्तरमै स–साना व्यवसाय खोली रोजगारी प्रवर्द्धन गर्नु जरुरी रहेको बताए ।

स्थानीय श्रम, सीप र कच्चा पदार्थमा आधारित व्यवसायको सिर्जना गर्न सके त्यस्ता व्यवसाय टिकाउ हुन सक्छन् । बाह्यजगतबाट आयातित सिप र कच्चा पदार्थमा आधारित उद्योगको तुलनामा परम्परागत कला, संस्कृति र सीपअनुरूपका व्यवसायमा आय तथा रोजगारीको सम्भावना बढिरहेको उनले बताए ।

त्यसैगरी निर्यात परिषद् नेपालका अध्यक्ष साथै साना तथा मझौला उद्योग महासंघका गण्डकी प्रदेश प्रमुख रेशमबहादुर पोखरेलले धेरै वर्षदेखि निर्यात क्षेत्रमा लागे पनि यस क्षेत्रका व्यापारी व्यवसायीका लागि सरकारले कुनै योजना नबनाएको बताए । यस विषम परिस्थितिमा एकजजुट भई अगाडी बढ्नुपर्नेमा जोड दिएका उनले व्यवसायीहलाई उद्योग दर्ता गर्नदेखि उत्पादन गरी बजारसम्म लग्न धेरै समस्या भएको बताए । वित्तीय स्रोतको अभावले गर्दा साना तथा मझौला व्यवसायहरूले प्रगति गर्न नसकेको उनको भनाई थियो ।

साना तथा मझौला व्यवसायी महासंघका महासचिव डा।गोपालप्रसाद तिवारीले साना तथा मझौला उद्योग नेपालको अर्थतन्त्रको आधारशिला भएकाले निजी क्षेत्र र सरकारले संयुक्त रुपमा अघि बढ्नुपर्ने सुझाव दिए । अहिले धेरै युवाहरुले केही उद्योग गरौं भनेर इच्छा जाहेर गरिरहेको अवस्थामा महासंघले त्यस्तो वर्गलाई समेटी अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

अहिले निर्यात व्यापार घटिरहेको अवस्थामा नेपाल सरकारले साना तथा मझौला उद्योगहरूले उत्पादन गरिरहेका सामानहरूलाई अन्तरराष्ट्रिय बजारको पहुँचमा धेरै सहयोग गर्नुपर्नेमा डा. तिवारीले जोड दिए ।

साथै गुणस्तरका बिषयमा जनसंख्या वृद्धिले एकातिर बेरोजगारी समस्यालाई चर्काएको र अर्कातिर सीमित खेतीयोग्य जमीनमा बढ्दै गएको श्रमशक्तिमा निर्भर हुनुपर्दा अर्ध बेरोजगारी समस्या अदृश्य रूपमा फैलिंदै गएकाले साना तथा घरेलु उद्योगको महत्व बढेको उनको भनाई थियो । अहिले निर्यात व्यापार घटिरहेको अवस्थामा सरकारले साना तथा मझौला उद्योगहरूले उत्पादन गरिरहेका सामानहरूलाई अन्तरराष्ट्रिय बजारको पहुँचमा सहयोग गर्नुपर्ने उनले बताए ।

साथै गुणस्तर विषयमा, नीतिगत रुपमा, सरकारी सहजीकरणका साथै निर्यात गर्दा आइपर्ने समस्या हटाउंदै जान सकेको खण्डमा सरकारले विदेशी मुद्रा आर्जन गर्नसक्ने र व्यापार घाटा पनि क्रमशः घट्दै जाने उनले बताए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।