धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१.०१ अङ्कले ओरालो लागेर २१२७.५२ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३३ अङ्कले ओरालो लागेर ४०२.९८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहको नै सूचकमा गिरावट आएको हो । कारोबार भएका कूल कम्पनीमध्ये ९ कम्पनीको मात्रै सेयर मूल्यमा वृद्धि भएको छ ।
त्यस्तै २०४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ । कूल ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर ३ अर्ब ३० करोड २२ लाख १ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ । नेप्से घटेपनि बजारमाकारोबार रकम भने बढेको हो । आइतबार ३ अर्ब १ करोड बराबरको सेयर किनेबच भएकोमा २९ करोडले कारोबार बढेको हो ।
घट्दो बजारमा लगानीकर्ताको आकर्षण मर्जरका कारण रोक्कम रहेर भर्खरै खुलेका कम्पनीमा गएको छ । जसका कारण शीर्ष कारोबार हुने र सेयरमूल्य बढ्ने दुबैतर्फ यस्तै कम्पनीहरु अग्र स्थानमा देखिएका छन् ।

नेप्सेका अनुसार सूर्योज्योति लाइफ इन्स्योरेन्स कम्पनी कारोबारका आधारमा शीर्ष स्थानमा छ । कम्पनीको १७ करोड ६५ लाख ४० हजार बराबरको सेयर कारोबार भयो । रिडी पावर कम्पनी १० करोड ४८ लाख ९२ हजार ८०७, पिपुल्स पावर कम्पनी ९ करोड ५६ लाख २९ हजार ६९७, माथिल्लो तामाकोशी ९ करोड ३५ लाख ९२ हजार ८८८ र अपि पावर कम्पनी ७ करोड ७७ लाख ९३ हजार ९७२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । बाराही हाइड्रोपावर ६.५६, सूर्योज्योति लाइफ इन्स्योरेन्स ५.१४ र पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले ५.०३ प्रतिशतले कमाएका छन् ।
त्यस्तै युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर ७.१४, श्वेतगङ्गा हाइड्रोपावर ६.७१, सगरमाथा इन्स्योरेन्स ६.४४, सयपत्री हाइड्रोपावर ५.८० र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.७४ प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब ६९ अर्ब ९१ करोड ६६ लाख १७ हजार ३३६ कायम भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया