डिजिटल बैंकिङ्गका शंकास्पद कारोबारको विवरण पनि वित्तीय जानकारी इकाईमा दिनुपर्ने

0
Shares

नेपाल राष्ट्र बैंकले इन्टरनेट, मोबाइल बैंकिङ तथा वालेट मार्फत भएका शंकास्पद कारोबारको विवरण पनि वित्तीय जानकारी इकाईमा दिनुपर्ने व्यवस्था गरेको छ।

केन्द्रीय बैंकले सम्पत्ति सुद्धिकरण तथा अपराधिक गतिविधिमा वित्तीय लगानी निरुत्साहन गर्नका लागि डिजिटल माध्यमबाट भएको कारोबारमा पनि यस्तो व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले भुक्तानी प्रणालीका लागि एकिकृत निर्देशन २०७९ जारी गर्दै बैंक/वित्तीय संस्थाले इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, वालेट लगायतका उपकरणहरूमार्पmत भएका शंकास्पद कारोबारहरूको विवरण समेत वित्तीय जानकारी इकाईमा अविलम्ब उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको हो ।

त्यसैगरी प्रत्येक कारोबार सम्पन्न भएपछि अनिवार्य रूपमा सम्बन्धित ग्राहकलाई तत्काल एसएमएस मार्फत सन्देश दिनुपर्नेछ । साथै, ग्राहकले अन्य विद्युतीय माध्यमबाट सन्देश माग गरेमा सो समेत उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

एकिकृत निर्देशन अनुसार दूरसञ्चार सञ्जालमार्फत सञ्चालन हुने भुक्तानी सेवामा ग्राहकलाई आवद्ध गर्नुअघि संस्थाले सेवाका विशेषता, सेवा शुल्के सीमा, भुक्तानीका क्रममा आउने समस्या तत्काल सम्पर्क गर्ने माध्यम लगायतका विषय उल्लेख गरी ग्राहकसँग सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेपालमा जारी भएका उपकरण विदेशबाट सञ्चालन गर्दा इन्टरनेट बैंकिङ्ग र मोबाइल बैकिङ्ग प्रणालीमा प्रयोगकर्तालाई आवद्ध गराउँदा ग्राहकले विदेशबाट सेवा प्रयोग गर्ने/नगर्ने व्यहोरा अनिवार्यरुपमा खुलाउने व्यवस्था मिलाउनुपर्नेछ ।

साथै, ग्राहकले मोबाइल बैंकिङ्ग वा इन्टरनेट बैंकिङ्ग सुविधा विदेशबाट प्रयोग गर्ने भएमा विदेश जानुअघि अनिवार्यरुपमा बैंकलाई पूर्व जानकारी गराउनुपर्ने व्यवस्था मिलाउन समेत एकिकृत निर्देशनले भनेको छ ।

कारोबार रकमको सीमा सम्बन्धी निर्देशनको अधीनमा रही कारोबारमा हुन सक्ने जोखिम विश्लेषण गरी कारोबार सीमा निर्धारण सक्नेछन । कारोबार रकमको सीमा थपधट गर्न सक्ने व्यवस्था ग्राहकसँग गरिने सम्झौतामा उल्लेख गर्नु पर्नेछ ।

भुक्तानी सेवा प्रदायक संस्थाले कारोबारको अडिट ट्रेइलको उचित व्यवस्था मिलाउनु पर्ने व्यवस्था एकिकृत निर्देशनमा उल्लेख छ । अडिट ट्रेइलका ट्रयाकिङ मार्फत संस्थाले स्वदेश तथा विदेशबाट लगइन गरी भएका कारोबारहरूको छुट्टाछुट्टै रिपोर्ट तयार गर्ने व्यवस्था मिलाउनु पर्छ ।

भुक्तानी कारोबारलाई भरपर्दो, सुरक्षित तथा विश्वसनीय बनाउनका लागि प्रणालीमा लगइन गर्दा गर्दा र विद्युतीय भुक्तानी प्रमाणीकरण गर्दा कम्तीमा दुई तहको प्रमाणीकरण सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्ने समेत एकिकृत निर्देशनमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।