केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा पनि सेयरबजारमा यसकारण छायो हरियाली

0
Shares

फेब्रुअरी महिनाको सुरुवातमा अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भले आठौँ पटक ०.२५ प्रतिशतले ब्याजदर बढाएको थियो । तर यसअघि ब्याजदर वृद्धिले हतास हुने लगानीकर्ता र ओरालो लाग्ने विश्व सेयर सूचांकहरुमा यो पटक हरियाली छाएको छ ।

४० वर्ष यताकै उच्च विन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रणका लागि अमेरिकी केन्द्रीय बैंकले निरन्तर रुपमा ब्याजदर बढाइरहेको छ । ब्याजदर वृद्धि र रुस–युक्रेनमा जारी युद्धका कारण विश्व अर्थतन्त्र प्रभावित बनेको छ । जसबाट अमेरिकी अर्थतन्त्र पनि अछुतो रहन सकेको छैन । विकसीत मुलुकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाएका कारण आर्थिक वृद्धि दरमा कमी आएको अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले स्पष्ट पारेको छ ।

फेडले निरन्तर बढाएको ब्याजदरका कारण अमेरिकी मुद्रास्फीति दरमा कमी आएको छ । सन् २०२२ को जुन महिनामा ९.१ प्रतिशत पुगेको मुद्रास्फीति दर सन् २०२३ मा ६.५ प्रतिशतमा पुगेको छ । यस्तै रोजगारीमा भएको वृद्धिका कारण अमेरिकाको बेरोजगारी दर सन् १९६९ यताकै न्युन ३.४ प्रतिशतमा पुगेको छ ।

रोजगारी दरमा भएको वृद्धि, मुद्रास्फीति दरमा आएको कमीका कारण लगानीकर्ताहरुको मनोबल उच्च रहेको छ । लगानीकर्ताहरुको मनोबल उच्च रहँदा विश्व सेयर बजारमा ब्याजदर वृद्धिको असर देखिएको छैन । सेयर बजार विश्लेषकहरुका अनुसार फेडले बढाएको ब्याजदर वर्तमान विश्व परिस्थितिका कारण सिर्जना भएको र सन् २०२३ को अन्त्यमा ब्याजदर १.५–२ प्रतिशत सम्ममा कायम रहने छ । जसकारण विश्व सेयर बजारका सूचांकहरु उकालो चढिरहेका छन् ।

फेडले ब्याजदर बढाएता पनि अमेरिकी सेयर सूचांक एस एन्ड पी५०० सूचांक पाँच महिना यताकै उच्च विन्दुमा पुगेको छ । यस्तै युरोपको सेयर सूचांक युरो स्टक्स ६०० सूचांक सन् २०२२ को अप्रिल महिना यताकै उच्च हुन पुगेको छ ।

यसै सन्दर्भमा फेडिलिटी इन्टरनेशनलका म्याक्रो एन्ड स्ट्राटजिक एसेट एलोकेसन प्रमुख सलमान अहमेद भन्छन्, “ हाल विश्व बजार एउटै भाषा बोलिरहेको छ । त्यो हो, तिमीहरु अहिले जे गर्छौ गर अन्त्यमा तिमीहरु हिँडेको बाटो परिवर्तन गरी पुरानै बाटोमा फर्किनेछौ ।”

यस्तै फेडका अध्यक्ष जेरोम पावेलले भने यो वर्ष केन्द्रीय बैंकले ब्याजदर कटौती नगर्ने जनाएका छन् । यस्तै युरोपियन केन्द्रीय बैंकका अध्यक्ष क्रिष्टिन लागार्डले पनि पावेलकै भाषामा मुद्रास्फीति दर २ प्रतिशतमा कायम नहुँदा सम्म ब्याजदर वृद्धि नरोक्ने बताएका छन् ।

तथापि लगानीकर्ताहरुले भने वित्तीय सूचांकहरुमा आएको सुधारलाई आधार मानेर लगानी बढाइरहेका छन् । साथै यसअघि प्यानिक भएर “सेल अफ”को श्रृङ्खाला चलाइरहेका लगानीकर्ताहरुले सेयरलाई होल्ड गरी रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।