नेप्से २१ सय बिन्दुमा, कारोबार रकम घट्दो

0
Shares

सेयर कारोबार सूचक मापक नेप्से सोमबार २ हजार १०० बिन्दुमा अडिएको छ । सेयर बजारप्रति लगानीकर्ताहरुको मनोबल बढ्न नसक्दा सूचक बढ्न नसकेको मात्र होइन कारोबार रकम समेत रकम निरन्तर घट्दो क्रममा देखिएको छ ।

अघिल्लो सोमबार ३ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा एक सातामै कराोबार रकम १ अर्ब ८४ करोडले घटेर १ अर्ब ४७ करोड ४१ लाखमा खुम्चिएको हो । बैंकिङ्ग प्रणालीमा बढ्दो तरलता, घट्दो ब्याजदरका बीच पनि नेप्सेमा लगानीकर्ताको आकर्षण सुस्त देखिएको हो ।

धेरै सूचीकृत कम्पनीहरुको वित्तीय विवरणमा आम्दानीका सूचकमा उच्च गिरावट आएका कारण पनि बजारप्रति लगानीकर्ताले अहिले नै प्रवेश गर्ने मनस्थीतिमा रहेका छैनन् । सूचीकृत कम्पनीहरुले लाभांश वितरण गरिसकेको अवस्था र घट्दो नाफाले त्यस्ता कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न सकेको छैन । अर्कोतर्फ राजनैतिक घटनाक्रमले पनि लगानीकर्ता बजारमा लगानी बढाउनभन्दा ‘पर्ख र हेर’ को रणनीतिमा रहेका कारण सेयर बजारमा रौनकता घट्दो क्रममा देखिएको हो ।

नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) का अनुसार सोमबार अघिल्लो दिनको तुलनामा ५१ करोडले कारोबार घटेको छ । सोमबार २५९ कम्पनीका ३९ लाख २२ हजार २१६ कित्ता सेयर २९ हजार ८६७ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम मात्र होइन कारोबार रकम र कित्तामा समेत अघिल्लो दिनको तुलनामा गिरावट आएको छ ।

हिजो आइतबार २५८ कम्पनीका ५२ लाख ६ हजार ३७० कित्ता सेयर ३९ हजार १८७ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब ९३ करोड १७ लाख १० हजार १०३ रुपैयाँमा समेटिएको थियो ।  सोमबार बजार सूचक नेप्से ४.६२ अंकको वृद्धि सहित २१००.७० बिन्दुमा अडिएको छ ।
आजको बजारमा पनि आदर्श लघुवित्तका सेयरधनीले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर १० प्रतिशत अर्थात २१२.१० रुपैयाँ बढेर मूल्य प्रतिकित्ता २३३३.८० रुपैयाँ पुगेको हो । यस्तै महुली लघुवित्तको ५.५१ प्रतिशत, युनिभर्सल पावरको ४.९९, सिभिल लघुवित्त ४.०५ र सपोर्ट लघुवित्तको ३.८४ प्रतिशतले सेयरको भाउ बढेको छ ।

उता सोमबारको बजारबाट लक्ष्मी बैंक डिबेञ्चर २०८८ को इकाईमूल्य सर्वाधिक ९.५८ प्रतिशतले घटेर ८५१ रुपैयाँमा झरेको छ । यस्तै बलेफी हाइड्रोपावरको सेयर लगानीकर्ताले ४.६७ प्रतिशत, मिथिला लघुवित्त ३.८५, ग्लोबल आइएमई ब्यालेस्ड फन्ड–१ को इकाईमूल्य ३.५७ प्रतिशत र आरबिबि म्युचुअल फन्डको ३.४३ प्रतिशतले सेयरमूल्य घटेको छ ।

आजको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको सेयर ८२८ रुपैयाँका दरले ७८ हजार ३०९ कित्ता सेयर ६ करोड ४५ लाख ७३ हजार ६१ रुपैयाँमा खरिद बिक्री भएको छ । यस्तै युनिभर्सल पावरको ५ करोड ३५ लाख, नेपाल लाइफको ४ करोड ८९ लाख, हिमालयन डिष्टिलरीको ४ करोड ७७ लाख र आशा लघुवित्तको संस्थापक सेयर ४ करोड ३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण ३० खर्ब ३१ अर्ब ४२ करोड ६८ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।