महानगरले हटायो मैतीदेबी चोकमा सडक किनाराको प्रहरी बिट


काठमाडौँ महानगरपालिकाले मैतीदेबी चोकमा सडक पेटीमा रहेको प्रहरी बिट हटाएको छ ।

मंगलबार महानगर प्रहरी बलले उक्त स्थानमा रहेको प्रहरी बिटको संरचना हटाएको हो ।

प्रहरी बिटका लागि मैतीदेवी मन्दिर परिसरमा स्थान उपलब्ध गराइएको महानगरपालिकाले जनाएको छ । “हामीले आपसी समन्वय र व्यवस्थापनका लागि गृहकार्य गरेर काम अगाडि बढाएका हौँ,” वडाध्यक्ष कुश ढकालले भने, “चोक सुधार र सौन्दर्यको प्रयासस्वरुप सडकपेटीको प्रहरी बिट मन्दिर परिसरमा सारिएको हो ।”

सडक पेटीमा पैदल यात्रीलाई निर्वाध हिँड्न पाउने प्रबन्ध मिलाउन नेपाल प्रहरीसँग समन्वय गरेर संरचना हटाएको उनले जानकारी दिए ।

महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार संरचनाभित्र रहेका सामान सारेर प्रहरी बिट रहेको स्थानलाई खाली गराइएको हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।